विद्युत प्राधिकरण सञ्चालक समितिका सदस्य पुन र आचार्य पदमुक्त

२०८१ श्रावण २० गते, आईतवार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट हटाइएको छ । उर्जामन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट उनीहरुलाई पदबाट हटाइएको हो । यसअघि साउन १५ गते उनीहरुलाई स्पष्टिकरण सोधिएको र सो स्पष्टिकरणको जवाफ साउन १८ गते दुवैले बुझाएकोमा उर्जा मन्त्रालयले सोहि दिन नै दुवैलाई हटाएको थियो ।
पुन र आचार्य डेडिकेटेड फिडर र ट्रंकलाइन महशुल बक्यौताको विवादमा प्रवन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उभिएको बताइएको छ।
विद्युतको बक्यौता उठाउने विषयमा सरकार र प्राधिकरणबीच विवाद चर्किएपछि अहिले यो विषय संसद्को सार्वजनिक लेखा समितिमा समेत पुगेको छ । लेखा समितिमा पुगेर समेत कुलमानले बक्यौता नतिरे उद्योगको लाइन काटिदिने आफ्नो अडान दोहोराएका थिए ।

यसैबिच, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की र पूर्वसहसचिव महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरिएको बताइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले शुक्रबार नै कार्की र गुरुङलाई नियुक्त गरिसकेको जनाएको हो ।

प्रतिक्रियाहरु

[anycomment]