बन्द उद्योग तत्काल सञ्चालन गर

२०८१ श्रावण २१ गते, सोमबार

काठमाडौँ । युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले बन्द उद्योग तत्काल सञ्चालन गर्न माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन नेपालद्वारा सोमवार हेटौडामा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो माग गरेका हुन्। अध्यक्ष दिनेश सीले नेपालका दलालहरुले राष्ट्रिय उद्योगहरु बेचेर खाएको भन्दै कडा आपत्ति जनाए । उनले युवा युवतीहरुलाई सचेत गराउदै दलालहरुले विदेश पठाउने बहानामा युवायुवतीहरुलाई ठग्ने गरेको भन्दै म्यानपावरहरुलाई त्यस्तो नगर्न कडा चेतावनी दिए ।
अध्यक्ष दिनेश सीले भने – ‘युवा युवतीहरुलाई विदेश पठाउने वहानामा ठगीएको छ, यो देशमा दलालहरु विरुद्ध लड्ने युवा पनि छ, हेक्का रहोस्, हामी दलालहरुलाई कार्वाही गर्न वाध्य हुनेछौ । दलालहरुलाई उद्योग बेचेर खान पाइदैन, युवायुवतीहरुलाई विदेशमा बेच्न पाइदैन, उद्योगहरु नेपालमै सञ्चालन गरी रोजगारी सृजना गर्न यथाशिघ्र माग गर्दछौँ ।’
उनले समाजवाद विना बन्द उद्योगहरु सुचारु हुन मुस्कील भएको उल्लेख गर्दै युवा संगठन नेपाल र यसको माउ पार्टी नेपाल कम्युनिष्ट पार्टी ०८४ पछि नयाँ शक्तिको रुपमा उदयमान हुने दाबी पनि गरे । उनले समाजवादी व्यवस्थाले मात्र बेरोजगार युवा युवतीहरुलाई रोजगारी दिने र राष्ट्रिय उद्योगहरुको विकास हुने भन्दै समाजवादका लागि युवाहरु एकताबद्ध हुनुपर्ने बताए ।
कोणसभा कार्यक्रमको संचालन युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष विश्लेषण सीले गरेका थिए । कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य अशोक सी, केन्द्रीय सदस्य पारस सी, हिमाल सी, रमेश सी लगायतका युवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]