उत्पादन कार्य देशलाई आत्मनिर्भर बनाउने पार्टीको महाअभियान
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ्ग जिल्ला इन्चार्ज सविन सीले उत्पादन कार्य देशलाई आत्मनिर्भर बनाउने पार्टीको महाअभियान भएको बताएका छन् । आइतबार नेकपा दाङको दोस्रो पूर्ण बैठकलाई सबोधन गर्दै उनले सो कुरा बताएका हुन्। नेता सविन सीले पार्टीको कृषि उत्पादनको नीतिले पार्टी जनताका बिचमा लोकप्रिय बन्दै गएको बताउदै भने– ‘ उत्पादनको कार्यले पार्टीलाई लोकप्रिय बनाएको छ । यो देशलाई आत्मनिर्भर बनाउने पार्टीको महाअभियान हो । यो अभियान पार्टीले निरन्तर चलाउँछ । हाम्रो यो नीति पार्टीलाई आत्मनिर्भर बनाउने , नेताकार्यकर्तालाई आत्मनिर्भर बनाउने र अन्ततः यो देशलाई आत्मनिर्भर बनाउने नीति हो । हामीले यो समाजलाई बदल्नैपर्छ । नेपालको दलाल पुजीवादी सत्ताले नेपाली जनताको जीवनलाई भताभुँङ्ग बनाइरहेको छ त्यसैले अहिलेको यो व्यवस्थालाई बदल्नैपर्छ । यो सत्तालाई एकीकृत जनक्रान्तिको माध्यमबाट बदल्ने हो । हाम्रो पार्टीले यो सत्ताको विकल्पमा नेपाली विशेषताको समाजवाद प्रस्ताव गरेका छ। यो नै नेपाली जनताको जिवनलाई समृद्ध बनाउने राजनीतिक व्यवस्था हो ।’
नेता सविन सीले अमेरिकाको एकध्रुबिय बिश्व बनाउने नीति तोडिएको बताउदै भने- ‘अमेरिकाको एकछत्र राज अब चल्नेवाला छैन् । अमेरिकाको एकध्रुबिय विश्व व्यवस्था बनाउने नीति विश्वभरीबाट तोडिएको छ । युक्रेनबाट होस् वा अफ्गानिस्तानबाट होस् वा जहाँजहाँ अमेरिकाले आतंकको खेती गर्ने सोचिरहेको छ त्यो सफल हुन सक्ने अवस्था छैन । यतिबेला अमेरिकाको विश्वव्यापी आतंकको नीति तोडिदै गएको छ ।’
नेता सविन सीले बंगलादेशको बिद्रोह जनताको योजनावद्ध बिद्रोह नभएको उल्लेख गर्दै उक्त बिद्रोह योजनावद्ध भएको भए पुरानो सत्ता फालेर नयाँ व्यवस्था स्थापना हुने थियो होला तर त्यसो नभएको बताए । उनले कांग्रेस-एमाले समीकरण संसदीय व्यवस्थाको रक्षाका लागि बनेको स्पष्ट पार्दै भने- ‘अहिलेको समीकरण माओवादी केन्द्रले भनेजस्तो सरकारले शुसासनका पक्षमा काम गर्न थालेपछि, भ्रष्टाचारका फाइल खोल्न थालेपछि मात्रै बनेको होइन । सरकारका केही गतिविधि पनि कारक बन्न सक्छन् तर प्रधान कुरा चाहिँ संसदीय व्यवस्थाको अस्तित्व गुम्न थालेपछि कांग्रेस-एमालेको अमेरिकन फ्याकटरले समीकरण बनाईदिएको हो । यो समीकरण स्थिरता वा कांग्रेस-एमालेले भनेजस्तो समृद्धिका लागि होइन । तर हाम्रो कुरा के छ भने जतिसुकै टेको लगाएपनी यो व्यवस्था अब टिक्दैन । यो लगभग ढलिसकेको छ, अब अलिकति जनताको र हाम्रो पार्टीको तागत चाहिएको छ ।’
नेता सविन सीले प्रचण्डहरु धोइपखाली, सफाचैट भएर आए पार्टी एकता हुनेबताउदै भने – ‘संसदीय सत्तामा पार्टीलाई चुर्लुम्म डुबाएका प्रचण्ड र उहाँका केही नेताकार्यकर्ताहरुहरु कांग्रेस-एमाले समेतलाई मात दिनेगरी भ्रष्टाचारमा डुबेर गन्हाएका छन्, सुनैसुनका महल ठड्याएका छन् ती सबै मान्छेहरु धोइपखाली, सफाचैट भएर आउछन् भने पार्टी एकता हुन्छ । हामी माओवादी आन्दोलन नयाँ ढंगले पुनर्गठन गर्न चाहेका छौँ । हाम्रो आह्वान छ अब माओवादीहरु जुट्ने बेला भयो । हाम्रो पार्टीको नीति नै छ यो देशका सच्चा क्रान्तिकारी, इमानदार, देशभक्त, प्रगतिशील, राष्ट्रवादी, सच्चा गणतान्त्रिक लोकतन्त्रवादीहरुलाई एकतावद्ध गर्दै समाजवादी राज्यसत्ता मार्फत नेपाली जनतालाई अधिकार सम्पन्न गराउने नीति लिएका छौँ ।’
उक्त बैठकमा मन्तव्य व्यक्त गर्दै पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीले नेकपाको नीति र नेतृत्व मात्रै अबको अग्रगामी निकास भएको बताए । उनले जनताले एकपटक विप्लवलाई देशको जिम्मा दिने बिश्वास सबैतिर रहेकाले नेताकार्यकर्ताहरु सबैले जनताको सेवा गर्नुपर्ने सुझाव व्यक्त गरेका थिए ।
बैठकमा पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले पार्टीको स्थायी समिति बैठकको सर्कुलर वाचन एवम पार्टीको लुम्बिनी प्रदेशको सचिवालय बैठकको सर्कुलर वाचन गरेका थिए ।
यस्तै पार्टीको तेस्रो आवधिक योजनाको दोस्रो पुर्ण बैठकले एकीकृत जनक्रान्तिका सहिद गोकुल राणा (महान) को शालिक निर्माण कार्यलाई अविलम्ब सुरु गर्ने, पार्टीका महासचिव विप्लव सीको उपस्थितिमा दाङमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, राप्ती क्षेत्र अन्तर्गतको ५ दिने स्कुलिङ सञ्चालन गर्ने, जनभेटघाट एवम ध्रुवीकरण कार्यक्रमलाई तिब्रता दिने, क्रान्तिका विरुद्धमा आउने शक्तिका विरुद्ध निर्मम संघर्ष गर्ने, उत्पादन एवम श्रम कार्यलाई थप व्यवस्थित ढंगले सञ्चालन गर्ने, एमसीसी विरुद्ध जिल्लामा जनप्रदर्शन कार्यक्रम गर्ने लगाएतका निर्णयहरु गरेको नेकपाले जनाएको छ ।
यस्तै बैठकले कृषि प्राविधिक तालिक सञ्चालन गर्ने, असोजबाट सांस्कृतिक अभियान सञ्चालन गर्ने, जिल्ला पार्टीको पत्रीकालाई प्रकाशन गर्ने, प्रत्येक महिना गर्ने रचनात्मक डेलाई नियमित गर्ने, पार्टीले अवलम्बन गरेको सी संस्कृतिलाई अनिवार्य लागू गर्ने, सी स्मृति दिवसको अवसरमा ४ दिन भ्रमण बिदा दिने निर्णय समेत गरिएको पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले जानकारी दिएका छन् ।
यस्तै जिल्ला सेक्रेटरी तिलक सीका अनुसार पार्टीको जिल्ला कमिटी हेरफेर गरिएको, केही पालिकामा नयाँ नेताहरुलाई जिम्मेवारी दिइएको साथै केही पालिकाका वडा इन्चार्ज एवम सेक्रेटरीहरु समेत हेरफेर गरिएको जानकारी दिए ।
पार्टीको दोस्रो पुर्ण बैठकमा पार्टीका १० वटै पालिकाका इन्चार्ज, जवस तथा मोर्चाका जिल्ला इन्चार्जहरु लगाएतले आ-आफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गरेका थिए ।
नेकपा दाङका सेक्रेटरी तिलक सीको अध्यक्षता एवम सञ्चालनमा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीको प्रमुख आतिथ्यता रहेको थियो ।
बैठकमा पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी, पार्टीका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चा इन्चार्ज सम्झना सी, पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.१ इन्चार्ज बिक्रम सी, पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ इन्चार्ज पाटन सी, पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.३ इन्चार्ज प्रदिप सी, पार्टीका दाङ जिल्ला सल्लाहकार द्वय नवराज सी र वंशिधर सीको समेत आतिथ्यता रहेको थियो ।