‘प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काल कार्यान्वयन नगर’
काठमाडौँ । सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले १६ भदौमा अवाकाश हुन लागेका ट्राफिक प्रहरी महाशाखामा कार्यरत नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ईश्वर श्रेष्ठसहित २१ जनाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उनीहरुलाई अवकाश नदिन अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चको अन्तरिम आदेशसँगै अवकाशको पत्र पाएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)सहित २१ जनाको जागिर तत्कालका लागि जोगिएको छ । उनीहरू यस मुद्दाको अन्तिम फैसला नहुँदासम्म नेपाल प्रहरीको सेवामा रहनेछन् । त्यसबाहेक ३० वर्षे सेवा अवधिका आधारमा केही समयभित्रै अवकाशमा जान लागेकाहरू पनि सेवामा कायम रहनेछन् ।
अन्तरिम आदेशमा रिटकर्ताहरूलाई जस्तै अन्य व्यक्तिको हकमा त्यस्तो पत्राचार नगर्न भनिएको छ । यसअघि, बृहत्पूर्ण इजलासले दिएको आदेश कार्यान्वयन नभएको विषयमा पनि प्रश्न उठाइएको छ । पहिलेको आदेश कार्यान्वयन नगरेको कारबाही किन नहुनुपर्ने भन्दै १५ दिनभित्र जवाफ पठाउन इजलासले कारण देखाऊ आदेश पनि जारी गरेको छ ।