नेकपा झापाद्वारा खनाललाई पार्टी र विद्यार्थी संगठनविरुद्ध भ्रम नफैलाउन चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी झापाले मानव अधिकार सञ्जाल झापाका अध्यक्ष रुपक खनाललाई पार्टी र विद्यार्थी संगठनविरुद्ध भ्रम नफैलाउन चेतावनी दिएको छ । नेपाल कम्युनिस्ट पार्टी झापा र अखिल समाजवादी झापाले छुट्टा छुट्टै बिज्ञप्ति जारी गर्दै ‘चन्दा आतंकविरुद्ध कारबाहीको माग’ शिर्षकमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि उक्त कुराको खण्डन गर्दै मानव अधिकार सञ्जाल झापाका अध्यक्ष रुपक खनाललाई कारबाहीको चेतावनी दिएको हो।
नेकपा झापाका सचिव सञ्जय सी र अखिल समाजवादीका झापाका इन्चार्ज विनोद सीले छुटा छुटै बिज्ञप्ति जारी गर्दै मानवअधिकार संजाल झापाका अध्यक्ष डा. रुपक खनालको विज्ञप्ति र प्रकाशित समाचारको खण्डन गरेका छन् । उनीहरुले पार्टी र विद्यार्थी संगठनविरुद्ध भ्रम फैलाउने षड्यन्त्र गर्ने, युवा विद्यार्थीको अभियान रोक्ने र कारबाहीको माग गर्ने कार्य गरेको भन्दै डाक्टर खनाललाई चेतावनी दिएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी झापाले यस्ता लज्जास्पद हर्कत रोकेर माफी नमागे अधिकारकर्मीको कथित आवरण उतारेर असली अनुहार जनतामा देखाइदिने समेत चेतावनीसमेत दिएको छ ।
विज्ञप्तिमा झापामा विद्यार्थी संगठन ‘शिक्षालय सुधार अभियान’ संचालन गरेर हरेक विद्यार्थीमा पुग्दै गरेको र विद्यार्थीको अधिकारको विषयमा संघर्ष गर्दै गरेको उल्लेख छ ।

विज्ञप्तिमार्फत पार्टीले राष्ट्रघात र जनघातविरुद्ध बलिदानी पूर्ण संघर्ष गर्दै गरेको अवगत गराइएको छ भने भर्खरै पनि झापामा विद्यार्थी माथी निर्घात कुटपिट, बलात्कार लगायत जनताकै जीवनको दर्दनाक समाचारहरु आइरहेको विषयमा नबोल्ने डा. रुपक खनाल जब जब युवा विद्यार्थी जनतामा जान्छन् तब त्यसका विरुद्ध बोल्ने गरेको र उनी परिचालित भएको समेत विज्ञप्तिमा उल्लेख छ ।