‘एमाले र कांग्रेस घमण्डी र भ्रष्ट पार्टी हुन्’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले र कांग्रेस घमण्डी र भ्रष्ट पार्टी भएको बताएका छन् । सो पार्टीद्वारा आयोजित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उनले भने- ‘’एमाले र कांग्रेस घमण्डी पार्टीहरु हुन् । एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादको प्रतिनिधि नै भइहाल्यो । अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो । यो ढंगको गठबन्धन सरकार बनेर उसले के धृष्टता गर्दैछ भन्दा दुई पार्टी सिष्टम बनाउने । जुन कुरो मलाई लाग्छ–यो सूर्यमुनि असम्भव छ । कमसेकम नेपालमा चाहिँ असम्भव छ ।’
नेता खनालले कांग्रेस र एमाले घमण्डी र भ्रष्ट पार्टी रहेकाले उनीहरूले संविधान संशोधनका लागि चलाएको हल्ला पनि काम नलाग्ने दाबी गरे ।
उनले दुई ठूलो पार्टीले आफूहरूको सहयोग बिना संविधान संशोधनको नाममा कमा र फुलिष्टप पनि परिवर्तन गर्न नसक्ने बताउदै भने-
‘यो मल्टिपार्टी सिष्टमलाई यही प्रक्रिया अन्तर्गत जतिसुकै ठूलो पार्टी किन नहोस् । एउटैले दुई तिहाई लिएर आएपनि सम्भव छैन। अहिले उनीहरु संविधान संशोधनको हल्ला फिँजाइरहेका छन् । संविधान संशोधनको हल्ला जतिसुकै पिटाए पनि दुई वर्षसम्म उनीहरुले एक्लै अगाडि बढ्न खोजे भने यो संविधानको न कमा चेन्ज गर्न सक्छन् । न फुलस्टप चेञ्ज गर्न सक्छन् ।’