प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

२०८१ भाद्र १० गते, सोमबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भएको छ । सैनिकमञ्चमा आयोजित गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन पुगेका प्रधानमन्त्री ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेका हुन् ।
मञ्चमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै रहेका ओलीविरुद्ध चर्को नाराबाजी र हुटिङ भइरहँदा आयोजकले शान्त बनाउने कोसिस गरेका थिए । तर अराजक शैलीमा युवाहरूले अश्लील शब्दसहित गौरा पर्व कार्यक्रमस्थलमा नाराबाजी गरेका थिए ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले उक्त नाराबाजीप्रति असन्तुष्टि जनाउदै नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण रहेको उल्लेख गरे । उनले भने- ‘नेपालीको परिचय मेलमिलाप हो । तर कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको छ। ‘
उक्त कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अतिथि र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विशेष अतिथिका रुपमा पुगेका थिए । गौरापर्वको सन्दर्भमा अतिथि बन्न पुगेका ओलीविरुद्ध दर्शकदीर्घाबाट स्वागतको सट्टा अपमानको वर्षा भएपछि आयोजकले पनि चित्त दुखाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]