‘संसदीय दलहरू असफल र बदनाम भए’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले संसदीय दलहरू असफल र बदनाम भएको ठोकुवा गरेका छन् । संयुक्त राजनीतिक दलित संघर्ष समितिद्वारा प्युठानको जुम्रीमा आयोजित ‘सी जाति अर्थात समानजाति’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले संसदीय दलहरू असफल र बदनाम भएको ठोकुवा गर्दै नेताहरू भ्रष्टाचार र राज्यदोहनमा लिप्त हुँदा जनताका प्राप्त उपलब्धि गुमेकाले यसप्रति गम्भीर र संवेदनशील हुन सबैलाई अपिल समेत गरे । उनले भुटानी शरणार्थी, गिरिबन्धु, सहकारी ठगी जस्ता गम्भीर अनियमितता र अपराधमा नयाँ पुराना दलहरू संलग्न रहेको बताउँदै यसबाट सचेत भएर प्रतिरोधमा उत्रिन ढिला गर्न नहुनेसमेत बताए ।
यसैगरी, उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले धर्म र जातीय संस्कृतिको नाममा समाजलाई विभाजन गर्न खोजिएको बताए । उनले वर्गीय समस्या हल भएपछि मात्रै सबै खाले जातीय समस्या समाधान हुने बताए ।
महासचिव विप्लव सीले कतिपय एनजीओकर्मीहरुले दलितको नाममा केही डलर पचाएर अनावश्यक विखण्डन र अस्थिरताको प्रचारप्रसार गरिरहेको बताए । उनले राउटेहरुलाई जंगलमै राखेर फोटोको व्यापार गरेजस्तै कतिपयले दलितको नाममा डलरको खेतीपाती समेत गरिरहेको बताउदै त्यसतर्फ भने सचेत हुनुपर्नेमा जोड दिए ।
महासचिव विप्लव सीले धर्म र संस्कृतिलाई देखाएर पुरानो राज्यव्यवस्थाले जातीय अन्तरविरोध बढाएको उल्लेख गर्दै हालको बुर्जुवा र प्रतिक्रियावादी सत्ताको विकल्पमा समाजवादी व्यवस्था आएपछि मात्रै सबैखाले विभेद र कुसंस्कार हट्नेमा आपूm विश्वस्त रहेको बताए । उनले जनताको निर्णायक शक्तिको अगाडि कुनै शक्ति टिक्न नसक्ने भन्दै राष्ट्रिय समस्या समाधानका लागि सबै जनसमुदाय एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताए ।
महासचिव विप्लव सीले बेद र गीताको प्रसङ्ग उल्लेख गर्दै पुरानो सत्ताले जनतालाई नियन्त्रणमा राख्न र अधिकारविहिन बनाउन अनावश्यक धर्म संस्कृतिलाई आपूm अनुकूल विश्लेषण गराएको ठोकुवा गरे ।
यसैगरी, सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सी.ले सबै जाति र वर्गको मुक्तिका निम्ति समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए भने नेकपा (माओवादी केन्द्र) का जिल्ला नेता प्रभात केसीले सी. जातिलाई कानुनी प्रक्रियामा लैजानुपर्नेमा जोड दिए ।
यसैगरी, नेकपा (एमाले) प्रदेश सदस्य खेम परियारले नेकपाले अगाडि सारेको ‘सी’ जातिको अवधारणालाई व्यवहारिक कार्यान्वयनका लागि थप संघर्ष गर्नुपर्नेमा जोड दिए भने नेपाली काँग्रेसका प्रतिनिधि गौरी बिकले जातीय मुक्तिका निम्ति सबै एकजुट भएर संघर्ष गर्नुपर्ने बताए ।
यसैगरी, सोही कार्यक्रमलाई सम्बोधन गर्दै श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सी.ले ‘सी’ जाति निर्माणको कार्यलाई देशभर अभियान कै रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेकोले आफ्नो संगठनले सशक्त पहल गरिरहेको बताए ।
उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सम्झना सी, सविन सी, अडिग सीलगायतको उपस्थिति रहेको थियोे ।
स्मरणीय छ, नेपाल कम्युनिस्ट पार्टीले सी जातीको अवधारणालाई अगाडि सारेपछि अहिले देशभर बहस चलेको छ । जातीय अन्तरविरोध र समस्यालाई सी जातीको अवधारणामार्फत् हल गर्दै सुन्दर समाजको परिकल्पना गरेको नेकपाले यसलाई कानुनी व्यवस्था गर्नुपर्ने माग गर्दै आएको छ । सो पार्टीनिकट युवा संगठनले सी जातीको कानुनी व्यवस्थाको माग गर्दै देशभर हस्ताक्षर संकलन समेत गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मालाई समेत बुझाएको थियोे ।