दलाल सत्ता नै भ्रष्टाचारको केन्द्र
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले दलाल सत्ता नै भ्रष्टाचारको केन्द्र भएको ठोकुवा गरेका छन। नेकपा दाङले देउखुरीमा आयोजना गरेको ‘संकटग्रस्त नेपालले खोजिरहेको निकास, नयाँ नीति र नेतृत्व’ विषयक सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन् ।
महासचिव विप्लव सीले दलाल सत्ता नै भ्रष्टाचारको केन्द्र भएको ठोकुवा गर्दै वर्तमान संङकटको समाधान समाजवाद भएको भन्दै लोकतान्त्रिक र वामपंथी सबै शक्तिहरु समाजवादका पक्षमा लाग्नुपर्ने र खुला बहस चलाउनुपर्ने बताए । उनले न्युनतम समाजवादी आधार तयार गर्नुपर्ने भन्दै सर्वपक्षीय छलफलमार्फत त्यो आधार तयार गर्नुपर्ने समेत बताए ।
महासचिव विप्लव सीले राज्य मुठ्ठीभरका दलाल पुंँजीपति वर्गको भएको भन्दै हालको राज्य व्यवस्थाले किसान मजदुरको प्रतिनिधित्व गर्न नसक्ने ठोकुवा गरे । उनले हालको सत्ताले किसान, सुकुम्बासी, जनजाति, महिला, विद्यार्थीहरुको अधिकार सुनिश्चित गर्न नसक्ने भन्दै यसको विकल्प वैज्ञानिक समाजवाद भएको बताए ।
यसैगरी, महासचिव विप्लव सीले समाजवादको पक्षमा खुल्ला बहस गर्न सबैलाई आह्वान गरे । उनले दलहरूले जनताको भावना समेट्न नसक्दा मुलुक अस्थिरता तर्फ धकेल्ने खतरा बढेको बताउदै अस्थायी र अस्थिर रङ्गमञ्चको राजनीतिले मुलुक नफेरिने बताए । उनले नेपाली राजनीतिलाई अस्थिरतातर्फ धकेल्ने अन्तर्राष्ट्रिय प्रयास बढ्दै गएको ठोकुवा गर्दै जनतालाई परिवर्तनको आभास दिन नसकेर दलहरूबीच आपसी मतभेद र विवाद बढाउदै लगिएको बताए ।
महासचिव विप्लव सीले राज्य संयन्त्र कमजोर बन्दै जादा जनताका आधारभूत समस्या समेत हल गर्न नसकेको बताउँदै राज्यले कानुन र विधिका नाममा जनतालाई अनावश्यक हैरानी थोपर्ने काम गरेको समेत बताए । उनले जनतामा निराशा र नकारात्मकता बाढ्दै लैजाने काम चर्किएको बताउँदै विकल्पसहितको समाधान समाजवाद भएको ठोकुवा गरे ।
महासचिव विप्लव सीले नयाँ पुस्तालाई राष्ट्र र परिवारप्रति गम्भीर र जिम्मेवार बन्दै सामाजिक र राजनीतिक रुपान्तरणमा लाग्न आग्रह गरे । उनले जनपक्षीय र प्रगतिशील व्यवस्थाको विकल्प राजतन्त्र नहुने दाबी गर्दै कतिपयले राजनीतिक चेत गुमाएर अनावश्यक लहडमा लागेको बताए । उनले आफ्नो योगदान र त्यागले प्राप्त उपलब्धिलाई बदनाम हुन नदिनुका साथै समयसापेक्ष परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिए ।