सिंहदरबारभित्रै कर्मचारी आन्दोलन !

२०८१ कार्तिक २५ गते, आईतवार


काठमाडाैं। सर्वोच्च अदालतको आदेशबिरुद्ध कर्मचारीहरुले सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेका छन्। नेपाल विविध सेवाका प्राविधिक कर्मचारीलाई स्वतः बढुवा गरी समायोजन गर्ने सर्वोच्चको आदेशबिरुद्ध कर्मचारीहरुले सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेका हुन् ।
सर्वोच्चको आदेशबाट प्रशासन सेवाका समग्र पदहरुमा बढुवाको अवसर खोसिन सक्ने भन्दै उनीहरुले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध प्रदर्शन गरेका हुन्।
त्यस्तै प्रतिस्पर्धाका आधारमा सेवा क्षेत्रमा प्रवेश गरेका र वृत्ति विकासको चरणमा रहेका कर्मचारीहरूको न्यायोचित बढुवामा अवरोध पुर्‍याउनसक्ने भन्दै उनीहरुले मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।
सरकारलाई सर्वोच्चको आदेश कार्यान्वयन नगर्न र फैसलाउपर रिट आदेशको पुनरावलोकनमा जान समेत माग गरिएको शाखा अधिकृत हरिप्रसाद पौडेलले बताए। साथै कर्मचारीहरुले निजामती सेवा ऐन र नियमावलीको मर्मअनुसार प्रतिस्पर्धात्मक र न्यायोचित वृत्ति विकास सुनिश्चित गर्न आग्रह गरेका छन्। आफ्ना मागका बिषयमा थप दवाव दिनका लागि उनीहरुले संघर्ष समिति नै गठन गरेर आन्दोलन अघि बढाउने तयारी समेत गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]