‘बीआरआईलाई राष्ट्रिय हितअनुकूल हुने गरी ग्रहण गर्नुपर्छ’

२०८१ मंसिर ११ गते, मंगलवार


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले चीनको बीआरआई प्रोजेक्टलाई राष्ट्रिय हितअनुकूल हुने गरी ग्रहण गर्नुपर्ने बताएका छन् । गृहजिल्ला गोरखा पुगेका भट्टराईले सोमबार पत्रकार भेटघाट कार्यक्रममा बीआरआई प्रोजेक्टप्रति तर्सिएर लिनै हुन्न भन्नु सही नभएको र त्यसलाई नेपालको हित अनुकूलका पक्षलाई ग्रहण गरेर आफ्नो विकासलाई अघि बढाउनुपर्ने बताएउदै भने- ‘बीआरआईमा अनुदान पनि छ, ऋण पनि छ, लगानी पनि छ, व्यापार पनि छ, अन्य कुरा पनि छन्, हाम्रो हितमा के चाहिन्छ, प्राथमिकता के हो भन्ने आधारमा हामीले छनोट गर्ने विषय हो। पहिले नै तर्सिएर लिनै हुन्न, हुँदै हुन्न भन्नु सही होइन भन्ने मेरो धारणा हो ।’
पूर्वप्रधानमन्त्री भट्टराईले सत्तारुढ गठबन्धन दलले बीआरआईमा साझा सहमति बनाएर अघि बढ्नुपर्ने उनले बताउदै भने- ‘चीनजस्तो उदीयमान शक्तिलाई बढी चिढ्याउने गरी प्रस्तुत भयौं भने राष्ट्रिय हित चाहिँ गर्दैन, अहित हुने गरी सम्झौता गर्नुहुन्न। तर बीआरआई बहिष्कार गर्ने, सहयोग लिन्न भन्ने ढंगबाट गयौं भने बिच्कने खतरा हुन्छ, त्यसो गर्न हुन्न ।’
उनले बीआरआईको विषयमा सत्तारुढ दलबीच मतभिन्नता रहेको आफूले बुझेको भन्दै यस विषयमा बाहिरी शक्तिको चलखेल हुनु बढो दुर्भाग्यपूर्ण रहेको पनि बताए । उनले भने -‘तीन मुख्य शक्ति– उत्तर, दक्षिण र पश्चिमा जो छन्, उनीहरू आफूसँग झुकेर गर भन्छन्, तर अर्कासँगचाहिँ नगर भन्छन्, मैले प्रत्यक्ष रूपमा भोगेको र देखेको कुरा हो यो। उनीहरूले के भन्छन् भन्दा पनि हामीले हाम्रो हितमा सबैसँग समान सम्बन्ध राख्नुपर्छ, चीनसँग सम्बन्ध राख्नुको अर्थ भारतलाई बिगार्ने भनेको होइन, भारतसँग सम्बन्ध राख्नुको अर्थ अमेरिकासँग बिगार्ने भनेको होइन ।’
पूर्वप्रधानमन्त्री भट्टराईले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध जहिले पनि आफ्नो देशको हितमा हुने बताउदै भने- ‘कसैले पनि सित्तैंमा कसैलाई सहयाग गर्दैन, त्यसलाई ध्यान दिएर एउटै नीति बनाउनुपर्छ। नेपालीले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धका बारेमा आफ्नै नीति बनाउनुपर्ने उनले बताए । ‘एमसीसी, बिप्पा जुनै सम्झौता गर्दा पनि झगडा गरेको छ, अब यसो नगरौं । बरु पर्याप्त मात्रामा बहस गरौं, साझा अवधारणा बनाऔं।
हामी बाह्य क्षेत्रमा एउटै रूपमा प्रस्तुत हुनुपर्छ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु