सामाजिक सञ्जालमा अमर्यादित गतिविधि नगर्न चेतावनी

२०८१ मंसिर १४ गते, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा जातीय, धार्मिक र सांस्कृतिक सम्बन्धमा खलल पुर्‍याउने गतिविधि नगर्न चेतावनी दिएको छ । मन्त्रालयले सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न जोकसैलाई कानूनी कारबाहीको दायरमा ल्याउने चेतावनी दिएको हो ।
सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्‍याउने किसिमले घृणाजन्य अभिव्यक्ति भैरहेको भन्दै मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।
मन्त्रालयले मुलुकमा बहुलवादमा आधारित बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका आधारभूत सिद्धान्तहरूलाई सम्मान गर्दै नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई उच्च प्राथमिकता दिइएको पनि स्मरण गराएको छ ।
संविधान द्वारा प्रदत्त मौलिक हकको सुनिश्चिततामा मन्त्रालय प्रतिबद्ध रहेको भन्दै पछिल्लो समय केही व्यक्तिले सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव ऋषिराम तिवारी द्वारा जारी विज्ञप्तीमा कानून द्वारा वर्जित र दण्डनीय गतिविधिलाई कानूनी दायरामा ल्याइने भएकाले त्यस्तो कार्य नगर्न नगराउन आग्रह गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]