माओवादी केन्द्रद्वारा २०८४ को चुनाव एक्लै लड्न तयारी गर्ने निर्णय

काठमाडौँ। नेकपा माओवादी केन्द्रको आज बिहान बसेको पदाधिकारी बैठकले २०८४ को चुनाव एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको छ । सो पार्टीले स्थानीय तह उपनिर्वाचनबाट शिक्षा लिँदै २०८४ सालमा हुने निर्वाचन पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने -‘आजको बैठमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट संख्या र लोकप्रिय जनमत दुवै हिसाबले प्राप्त परिणामलाई उत्साहजन भएको निष्कर्ष निकालिएको छ। यसले अब आगामी निर्वाचनमा आफ्नै एजेण्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष हो ।’
यसअघि पार्टीले जितेका रुकुमपूर्वको पुथाउत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको रुपमा लिएको छ ।
भएभरका सबै दलहरु मिलेर गठबन्धन गर्दा पनि रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, त्यहाँको वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडाहरु लगायतका ठाउँमा भारी मतान्तरले विजयी हुनु, पहिले तेस्रोमा पनि निकै कमजोर स्थितिमा रहेको काठमाडौंको कीर्तिपुरमा नगरपालिका सहित १२ ठाउँमा उल्लेख्य मतसहित दोस्रो हुनु आदिलाई पार्टीले जनतामा माओवादीप्रति बढेको विश्वास र उत्साहको रुपमा लिएको प्रवक्ता सापकोटाले जानकारी दिए। उनले कीर्तिपुरमा दोस्रो भए पनि यसलाई जनता र कार्यकर्ताले जीतकै रुपमा लिएको बताउदै भने- ‘विगतमा जनतासँगको सम्बन्ध थप प्रगाढ बनाउन नसक्नुमा हाम्रो केही गल्ती कमजोरी भएकै हो, पार्टी र जनता दुबैको कुरा मिल्दै गएको छ। हाम्रो पार्टीले पनि जनतासँग सम्बन्ध प्रगाढ बनाउन नसक्नुलाई कमजोरीको रुपमा लिंदै आफ्नो वर्गप्रति फर्कने अभियान सुरु गरेको छ भने जनताले पनि हाम्रो हितमा काम गर्ने पार्टी त माओवादी नै रहेछ भनेर पुनः बोध गर्न थालेका छन्, अहिले उपनिर्वाचनको सफलताको अर्थ पनि योसँगै जोडिएको छ ।’
उनले अब मंसिर २७ गते बस्ने स्थायी समिति र त्यसपछि बस्ने केन्द्रीय समिति बैठकले यसबारे थप समीक्षा गर्ने बताए । बैठकले पार्टीका पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभाहरुलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । खबरदारी सभाका लागि केन्द्रीय नेताहरुलाई पालिकास्तरमा खटाउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।
प्रवक्ता सापकोटाले माओवादी केन्द्रले विद्युत प्राधिकरणमा सरकारले गरिहेको हस्तक्षेपको बिरोध गरेको बताउदै भने-। ‘जसरी प्राधिकरणले महसुस उठाउन जोड दिइरहेको छ, यसलाई रोक्न इतिहासमा कहिल्यै नभएको अनौठो गरी विद्युत प्राधिकरणमै मन्त्रीले कार्यकक्ष खोलेर प्राधिकरणका काममा अवरोध गर्ने काम भएको छ, यसमा हाम्रो सशक्त बिरोध हुने। ’