माओबाट विश्वभरका कम्युनिस्टहरुले शिक्षा लिन आवश्यक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य बसन्त सीले माओबाट विश्वभरका कम्युनिस्टहरुले शिक्षा लिनुपर्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीद्वारा १३२ औं माओ जन्म दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता बसन्त सीले अहिलेपनि माओको विचारलाई आत्मसात गरेर हिड्न आवश्यक रहेको बताउँदै सबै कम्युनिस्टहरुले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले कतिपय कम्युनिस्ट पार्टीहरुले माओको विचारलाई आत्मसात गर्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै नेपाली बिशेषता अनुसारको आर्थिक, सामाजिक, साँस्कृतिक लगाएत समग्र रुपान्तरणको प्रक्रियामा अगाडि बढ्नु नै वास्तविक रुपमा माओप्रति सम्मान हुने बताए ।
नेता बसन्तले अहिलेको समस्या दलाल पुँजीवादले हल गर्न नसक्ने भन्दै नेपाली बिशेषताको समाजवाद ल्याउने अभियानमा जुट्न सबैलाई अपिलसमेत गरे ।
नेकपाका केन्द्रीय सदस्य शरद सीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा रुपन्देहीका सल्लाहकार ज्योतिलाल सी, जया सी लगायतले विश्व कम्युनिस्ट आन्दोलनमा माओको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रम नेकपा रुपन्देही सेक्रेटरी बिरेन्द्र सीले संचालन गरेका थिए ।