‘संघीय लोकतान्त्रिक गणतन्त्र दुर्घटनामा पर्ने खतरा छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा रहेको बताएका छन् । चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका पछिल्ला कदमले संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी गरेका हुन् ।
प्रचण्डले भने, -‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ। संविधान, लोकतन्त्र, समावेशी र समानताका अधिकार यसले खोस्न खोजियो भने देश राजनीतिक खतरामा जानसक्छ ।’
प्रचण्डले देशलाई दुर्घटनाबाट बचाउन जनप्रतिनिधि लगायत सम्पूर्ण जनतालाई आ–आफ्नो ठाउँबाट आवाज उठाउन अनुरोध पनि गरे । उनले आफू नेतृत्वको सरकार हुँदा केही सकारात्मक पहल भएको भए पनि अहिले त्यसलाई भत्काउने काम भइरहेको जिकिर गर्दै भने- ‘मेरो सरकार हुँदा केही सकारात्मक पहल भएका थिए । त्यही सन्दर्भमा निकै अप्राकृतिक, अपारदर्शी र असंवैधानिक ढंगबाट पहिलो र दोस्रो दल मिलेर सरकार बन्यो। सरकार बनेयता गरेका कामहरू संविधान र लोकतन्त्रको मर्यादा विपरीत धेरै काम भएका छन् ।’
प्रचण्डले सरकारले पछिल्लो पटक ल्याएका पाँच वटा अध्यादेश लोकतन्त्रको मर्यादा र भावना विपरित भएको बताउदै भने-‘अध्यादेशको जो लाइन लगाउन खोजिएको छ । सदनलाई छलेर अध्यादेशमार्फत् शासन गर्न खोज्नु लोकतन्त्रको मर्यादा र भावना विपरित हो। ’
प्रचण्डले समितिमै विचाराधीन रहेको विधेयकलाई पनि वास्ता नगरी सरकारले अध्यादेश ल्याएको भन्दै त्यसप्रति आपत्ति जनाए । उनले भने-
‘विधेयक सदनमा प्रस्तुत भयो, सदनको फुल हाउसबाट समितिमा पठाइयो । त्यो विधेयक अहिले समितिमै छ । त्यस्तो विधेयक पनि फिर्ता लिएर अध्यादेश जारी गर्ने दुस्साहस भएको । ’