ताप्लेजुङ तनाबग्रस्त : प्रहरीको गोलीवाट चार जना गम्भीर घाइते

२०८१ माघ १३ गते, आईतवार


काठमाडौँ । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा रहेको ‘नो केबलकार समूह’को आन्दोलनलाई रोक्न भन्दै प्रहरीले गोली चलाउँदा चार जना प्रदर्शनकारी घाइते भएका छन् भने गोली लागेका मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । केबलकार निर्माणको विरोधमा रहेको ‘नो केबलकार समूह’ले आजबाट आन्दोलन गर्ने तयारी गरेको थियो । आन्दोलनलाई रोक्न भन्दै शनिबार नै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो । शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि स्थिति तनाबग्रस्त बनेको थियो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार झडपमा चार जना आन्दोलनकारी घाइते भएका छन् । प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका हुन् । यामबहादुर, धर्मान र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो । उनीहरुको अवस्था गम्भीर छ । तीन जना घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवेल मेडिकल कलेज विराटनगरमा पठाइएको बताइएको छ । ।
शनिबार दिउँसो पनि प्रहरी र नो केबलकार पक्षबीच झडप भएको थियो । झडपमा प्रहरीले चलायो १२ सेल अश्रुग्यास प्रहार गरेको थियो । त्यो झडपमा पनि केही घाइते भएका थिए ।
ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माणका लागि निर्माण कम्पनीले मंगलबारबाट काम सुरु गरेपछि तनावको अवस्था उत्पन्न भएको हो । पहिचान पक्षधरले केबलकार निर्माण गर्दा पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार आन्दोलन’ चलाइरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]