नेकपा कञ्चनपुरद्वारा सिमा अतिक्रमण रोक्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सिमा अतिक्रमण रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरसमक्ष १५ बुँदे ज्ञापनपत्र पेश गरेको छ। नेकपा कञ्चनपुरका इन्चार्ज बिराट र सचिब दिवारद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमि अतिक्रम गरेकोले सिमा समस्या समाधानको माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरसमक्ष १५ बुँदे ज्ञापनपत्र पेश गरेको हो ।
ज्ञापनपत्रमा २०८१ माघ २० गते कंचनपुरको दोधारा चाँदनी नगरपालिका वडा न. ८ धामीटोल र केहि समय अगाडि बेल्डाडी गाउँपालिकाको झिल्मिला लगायत ठाउँमा भारतले दशगजा खाली गर्ने निहुँमा नेपाली भूमि अतिक्रमण गरेको, नागरिकलाई चेकजाँचको नाममा आतंक र दुर्ववहार हुने गरेको, भारतबाट निर्वाध रुपमा आयात हुने लागुऔषध दुर्व्यसनीको सिकार नेपाली युवायुवती भैरहेकोले यसबारे समेत समस्या समाधान गरिनुपर्ने उल्लेख गरिएको छ।
यसैगरी , उक्त ज्ञापनपत्रमा सुकुम्बासी, आरक्ष पीडित, बाढी पीडितहरुको डाटा संकलन गरि समस्या समाधान गरिनुपर्ने, लघुवित्त, मिटर ब्यज र बैंक पीडितहरुको जग्गा हडप्नेहरुलाई कानुनी कारबाही गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रण गरिनुपर्ने, गुणस्तरहिन सामनसहित भैरहेको कालोबजारी रोकिनुपर्ने र निर्माणाधिन भौतिक संरचनाको ढिलोसुस्ति, गुणस्तरहिन र मापदण्ड विपरित काम भइरहेको ठाउँमा कारबाही गरिनुपर्ने उल्लेख छ।
त्यस्तै ज्ञापनपत्रमा नियम बिपरित सन्चालित क्रसर उद्योग र इटाभट्टाले वातावरणीय प्रदुषण फैलाइरहेको हुँदा अनुगमन गरि नियन्त्रण गर्नुपर्ने , महाकाली नदिमा नदिजन्य पदार्थ, गिट्टी बालुवा र माछामार्न जनतालाई सहज गरिनुपर्ने, चुरेक्षेत्रको काठ तस्करी र ढुड्गा गिट्टी तस्करी रोक्नुपर्ने एवम् नेपाल सरकार र नेकपाबिच भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न गराउन पहल गरिनुपर्ने लगायतका माग राखिएको छ।
उक्त ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले मागहरूप्रति सकारात्मक रहेको भन्दै सिमा क्षेत्रमा तत्काल अनुगमन गरि समस्या समाधानमा बार्ता र कुटनैतिक पहल गरिने बताए।

