श्रमिक समुदायको मुक्तिका लागि नेपाली विशेषताको समाजवाद अनिबार्य

२०८१ माघ २९ गते, मंगलवार


काठमाडौँ । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले श्रमिक समुदायको मुक्तिका लागि नेपाली विशेषताको समाजवाद अनिबार्य भएको बताएका छन् । श्रमिक समुदाय मोर्चा, नेपालद्वारा सोमबार काठमाडौँ माइतीघर मण्डलामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष रामलाल सीले यो दलाल संसदीय व्यवस्थाले उत्पीडित श्रमिक समुदायलाई न्याय दिन नसकेको ठोकुवा गर्दै भने- ‘आज किसान, मजदुर र उत्पीडितहरु चोकचोकमा नारा लगाउन बाध्य छन् । सबैको मुक्तिका लागि नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्दछ । ‘


त्यसैगरी, उक्त सभालाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष भृकुटी सी आधुनिक युगमा जातिकै आधारमा विभेद र हिंसा गरिनु दु:खद कुरा भएको बताइन् ।
त्यसैगरी, उक्त सभालाई सम्बोधन गर्दै अखिल (समाजवादी) का महासचिव प्रकाश सीले गृहमन्त्री रमेश लेखकले आफ्नै निर्वाचन क्षेत्रका निर्मला पन्त लगायत कसैलाई पनि न्याय दिन नसकेकोमा आक्रोश व्यक्त गरे ।
उक्त सभामा अछाम, सर्लाही र रौतहटमा भएको जातिय विभेदका घटनाहरुको विरोध गर्दै घटनाका दोषीहरुलाई कार्वाही एवं पीडितलाई क्षतिपूर्ति र श्रमिक समुदायमाथिको अपराधिक घटनाहरुको स्थायी समाधानका लागि नेपाल सरकार समक्ष वक्ताहरुले जोडदार माग गरेका छन् ।


गत माघ २१ गते साँफेबगर ९ स्थित बुढाकोट माविमा पुजारी चेतराज भट्टले शिक्षक अभिभावक संघका अध्यक्ष सर्जन परियार लगायत अविभावक र श्रमिक समुदायका विद्यार्थीहरुलाई सरस्वती पूजाको टीका पातमा दिई विभेद गरेका हुन् । त्यसैगरी सर्लाहीको बरहथवा ४ का सत्येन्द्र राम चमार र बरहथवा ५ की नेहा रौनियारबिच अन्तरजातीय प्रेम विवाह पश्चात् विवाह दर्ता समेत गरिसकेको अवस्थामा सत्येन्द्र विरुद्ध बालविवाह, लागूऔषधदेखि मानव बेचविखन सम्मको मुद्दा लगाई गृहमन्त्री रमेश लेखक एवं प्रहरी प्रमुखकै निर्देशनमा फसाउने षड्यन्त्र गरिएको समाचार आएपछि चौतर्फी विरोध भइरहेको छ ।
त्यसैगरी रौतहटको बृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवानमाथि २०७९ को छठ पर्वमा स्थानीय पसिन्द्र महतो लगायतले गरेको जातीय विभेद तथा छुवाछूत विरुद्ध मुद्दा हालेको भन्दै पुनः २०८१ मंसीर १९ गतेका दिन वृन्दावन स्थित बहुअरी गाउँमा पोखरीको विवाद सृजना गरी राजेश माथि आक्रमण गरी उल्टै राजेशमाथि नै झुट्टा मुद्दा दर्ता गरिएको कुराको समेत विरोध भइरहेको छ ।
श्रमिक समुदाय मोर्चा नेपाल, बागमती प्रदेश समन्वय समितिका इन्चार्ज पदम सीको अध्यक्षता र सदस्य सर्जक सीको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु