नेपाल–भारत सचिवस्तरीय संयुक्त सञ्चालन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समितिको बैठक आज भारतको नयाँ दिल्लीमा बस्दै छ । बैठकमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य सहितको टोली सोमबार नै भारत पुगिसकेको छ । बैठकबाट अन्तरदेशीय विद्युत् व्यापारका लागि महत्वपुर्ण मानिएको इनरुवा–पूर्णिया र दोधारा–बरेली चार सय केभी प्रसारणलाइन निर्माणको प्रारुपलाई अनुमोदन गर्ने तयारी छ ।
माघमा दुई देशका ऊर्जा सह–सचिवस्तरीय संयुक्त कार्यदलको बैठकले दुई अन्तरदेशीय प्रसारणलाइन निर्माणको प्रारुप टुंगो लगाएको थियो । सहमति अनुसार नेपाल–भारत संयुक्त कम्पनी बन्ने र आ–आफ्नो क्षेत्रको प्रसारणलाइनमा ५१ प्रतिशत सेयर रहने छ । निर्माण हुने प्रसारणलाइनको नेपाल खण्डमा प्राधिकरणको ५१ प्रतिशत र भारतको पावरग्रिड कर्पोरेसन लिमिटेड पीजीसीएलको ४९ प्रतिशत हुने र भारत खण्डमा भारतको ५१ र नेपालको ४९ प्रतिशत हुने भएको छ ।
बैठकमा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता आठ सयबाट बढाएर एक हजार मेगावाट पु¥याउने, चमेलिया–जौलजीवी दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनको डीपीआर यसैवर्ष सम्पन्न गर्ने विषयमा पनि छलफल हुनेछ ।
त्यस्तै सन् २०३५ सम्ममा चार सय केभीका निजगढ–मोतिहारी र कोहलपुर–लखनउ प्रसारण लाइन निर्माण सम्पन्न गर्ने सहसचिव स्तरीय सहमतिलाई अनुमोदन गर्नेलगायतका एजेण्डा तय गरिएको छ ।