निर्वाचन दिवस मनाइँदै

काठमाडौँ । आज निर्वाचन दिवस । नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको सम्झनामा आज ‘निर्वाचनको प्रभावकारिता : आमनागरिकको सहभागिता’ मूल नाराका साथ नवौँ निर्वाचन दिवस मनाइँदैछ । निर्वाचन दिवसका अवसरमा आयोगले आज कान्तिपथस्थित आयोग परिसरमा मूल समारोह आयोजना गर्दैछ ।
दिवसका अवसरमा शुभकामना दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक एवं कानूनी दायित्व पूरा गर्न आयोग थप क्रियाशील हुनेछ भन्ने प्रतिबद्धता व्यक्त गरेका छन । प्रमुख आयुक्त थपलियाले असल अन्तर्राष्ट्रिय अभ्यासको समेत अनुशरण गर्दै नेपालको वर्तमान निर्वाचन प्रणाली र प्रक्रियालाई थप प्रभावकारी बनाउन कृत सङ्कल्पित रहेको स्पष्ट पारेका छन् ।
मुलुकमा प्रजातन्त्र स्थापनाको आठ वर्षपछि २०१५ फागुन ७ गते आमनिर्वाचन भएको थियो । संवैधानिक अङ्गका रूपमा रहेको निर्वाचन आयोगले स्थानीय तहदेखि राष्ट्रपतिसम्मको निर्वाचन गराउँदै आएको छ । आयोगले वर्तमान संविधान जारी भएपछि दुई पटक प्रतिनिधिसभा तथा प्रदेशसभा र स्थानीय तहको आवधिक निर्वाचन, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्यको विभिन्न निर्वाचन र उपनिर्वाचन सम्पन्न गरिसकेको छ । निर्वाचन मार्फत् जनप्रतिनिधि निर्वाचित भई जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक सङ्घीय शासन प्रणालीको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह भइरहेको छ ।
इतिहासका सबै कालखण्ड र राजनीतिक परिवर्तनका हरेक नयाँ उपलब्धिमा मुलुकले अङ्गीकार गरेको शासन व्यवस्था र निर्वाचन प्रणालीलाई संविधान र कानूनबमोजिम निर्वाचनको माध्यमबाट वैधानिकता प्रदान गर्ने संवैधानिक दायित्व पूरा गर्दै आइरहेको छ ।