‘असफल व्यवस्था र जनताको अवस्था बदल्न चाहने एक हुनु पर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज प्रेम सीले असफल व्यवस्था र जनताको अवस्था बदल्न चाहने एक हुनु पर्ने बताएका छन् । नेकपा दोलखाको बैतेश्वरको दोश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
नेता प्रेम सीले नेपाली जनताले खलनायकहरु नभएर नायक खोजेको बताउदै एकीकृत जनक्रान्ति आविष्कारक विप्लव सी सच्चा क्रान्ति नायक भएको दाबी गरे । उनले महासचिव विप्लव सीको नेतृत्वमा समाजवादी क्रान्ति शक्तिशाली भएर अघि बढ्भको बताउदै भने- ‘दलाल पुँजीवादी व्यवस्थाको असफलता र खराब शासकहरु नाङ्गिंदै गएपछि फेरी गद्दीबाट शासन गर्न खोज्नेहरु सल्बलाइहेको हुँदा संक्रमणकालीन अवस्था जटिल बन्दै छ, त्यसैले क्रान्तिको आवश्यकता झन् बढेको छ ।’
यसैगरी, नेता प्रेम सीले क्रान्ति र प्रतिक्रान्ति आमनेसामने टक्कराइरहेको जिकिर गर्दै भने- ‘शाेषक-शासकले प्रतिक्रान्ति गर्न खोज्छन् भने जनताले क्रान्ति गर्न चाहन्छन् । क्रान्ति रोकिदैन बरु झन् शक्तिशाली भएर अघि बढ्नेछ।’
नेता प्रेम सीले असफल व्यवस्था र जनताको अवस्था बदल्न चाहने जनता एक हुनु पर्ने बताउदै भने- ‘दलाल पुँजीवादी सत्ता तीव्र विघटनको दिशामा छ र जनताको नजरमा गिरेका दलाल संसदवादी शासकहरु डोरी चूँडिएर आकाशमा बत्तिएका चङ्गा जस्ता भएका छन् । दुबै कारणले देशमा क्रान्तिको अनिवार्यतालाई पुष्टि गर्दछ ।’
नेता प्रेम सीले अबको क्रान्ति भनेको देशलाई अस्थिरता, अराजकता र भ्रष्टाचारको दलदलबाट निकालेर राष्ट्रिय स्वाधीनताको पूर्ण रक्षा, सुख-समृद्धि र सुशासनको ग्यारेन्टी गर्न समाजवादी गणतन्त्रमा पुर्याउने ठोकुवा गरे । उनले जनता र पार्टीको सम्बन्ध पानी र माछा जस्तै भएकोले जनसेवामा नेता र कार्यकर्ता जोडतोडले लाग्नुपर्ने बताउदै दुध र पानी छुट्टाउने हाँस जस्तै गुण भएका जनता र प्रगतिशील शक्तिहरुले क्रान्तिमा सहयोग गर्न पनि अपिल गरे । उनलेे भने,’नयाँ आर्थिक मार्गको नीतिलाई कार्यन्वयन गर्दै नेकपाका नेता र कार्यकर्ता उत्पादन क्षेत्रमा लागिरहेका छन् । आत्मनिर्भर जनता, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर नेताको मार्गले मात्र भ्रष्टाचार मुक्त समृद्द देश निर्माणमा टेवा पुग्छ । जिल्लामा नेकपाको विचार, नीति र नेतृत्वको लोकप्रियता बढ्दै गएको छ ।’
उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३३ जना नेता-कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । एमाले परित्याग गरी नेकपामा प्रवेश गर्ने वैत्यश्वरका लोकप्रिय नेता होम बहादुर नेपालीको नेत्तृत्वमा ३३ जना स्थानीय युवा नेताहरु नेकपामा समाहित भएका थिए ।
दोलखा जिल्लाका इन्चार्ज एवं केन्द्रीय सदस्य प्रेम सी र केन्द्रीय सल्लाहाकार यादव सी र सेक्रेटरी राज कुमार सीले नवप्रवेशीहरुलाई टीका र खादा लगाएर न्यानो स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा नेकपाका सल्लाहाकार यादव सी, पालिका इन्चार्ज भक्तराज सी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । वैत्यश्वर गाउँपालिका सक्रेटरी विष्णु सीले संचालन गरेको उक्त कार्यक्रम मैनापोखरी बजारमा सम्पन्न भएको थियो । वैत्यश्वर गाउँपालिका समितिको दोश्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा जिल्ला सेक्रेटरी सिसिएम राज कुमार सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा पालिका इन्चार्ज भक्तराज सी, युवा संगठन नेपालको जिल्ला संयोजक भरत सी, अखिल समाजवादीका जिल्ला संयोजक सुस्मिता सी, तामाङ राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला संयोजक अरुण सी, श्रमिक समुदाय मोर्चा नेपालको संयोजक नर बहादुर सी, जोनसी लगायत जिल्ला सदस्यहरुसहित कार्यक्रममा ९३ जना पार्टी सदस्यहरुको सहभागिता रहेको थियो ।