प्रहरी कुट्ने अखिलका नेतालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले ड्यूटीमा खटिएका प्रहरीलाई कुटपिट विद्यार्थी नेताहरूलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश हर्कबहादुर केसीको इजलासले सो आदेश दिएको हो ।
अदालतले रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ भने नेकपा एमालेनिकट अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई भने जनही १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।
यो समूहले २४ माघको राति ड्यूटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको थियो । जोशीको समूहबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट कुटिएका थिए । दरबारमार्गस्थित केशरमहल बिटबाट ड्यूटीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो ।
मध्यराति हो–हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो । तर, मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिदिएका थिए । आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई उनीहरुले हिर्काएका थिए ।