नेकपाद्वारा शुक्लाफाँटा नगरपालिकालाई १८ बुँदे ज्ञापनपत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी शुक्लाफाँटा नगर कमिटीले नगर क्षेत्रका विभिन्न समस्याहरू समाधानको माग गर्दै शुक्लाफाँटा नगरपालिकालाई १८ बुँदे ज्ञापनपत्र पेश गरेको छ । नेपाल कम्युनिस्ट पार्टी शुक्लाफाँटा नगर कमिटीका सचिव कर्ण सी र इन्चार्ज ललित जङ्ग सीसहितको टोलीले शुक्रबार उक्त ज्ञापनपत्र बुझेको हो ।
ज्ञापनपत्रमा कृषकहरूले उत्पादन गरेका वस्तुहरू उपभोक्तासम्म पुर्याउन हाटबजारको व्यवस्था गर्न, लागुऔषध नियन्त्रणका लागि कडाभन्दा कडा कारबाही गर्न, सामुदायिक वनमा वडा नं. ३ र ४ का वासिन्दाहरूलाई सहभागी गराउन तथा नगरभित्र शुद्ध पिउने पानीको व्यवस्था गर्न , लघुवित्त, मिटरव्याजी तथा बैंक पीडितहरूको समस्या समाधान गर्दै उनीहरूलाई न्याय दिलाउन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणमा पारदर्शिता अपनाउन र बाँझो जमिन उपयोग गर्न कानुनी व्यवस्था गर्न नगरपालिकालाई आह्वान गरिएको छ।
यसैगरी, उक्त ज्ञापनपत्रमा सुकुम्बासी तथा आरक्ष पीडितहरूको समस्या समाधान गर्न, सांस्कृतिक विभाग गठन गरी जातीय विभेद तथा महिला हिंसाविरुद्ध पहल गर्न, शिक्षामा सुधार गर्दै विद्यालय प्रशासनलाई पारदर्शी बनाउने व्यवस्था गर्न र शहिदहरूको सम्मानमा शहिद गेट तथा शहिद संग्रहालय निर्माण गर्न, कृषकहरूलाई उन्नत बिउ, मल र सिँचाइको सुविधा उपलब्ध गराई कृषि आधुनिकीकरण गर्न, सडकमा बिग्रिएका बत्तीहरू मर्मत गर्न, विद्युत सुविधाविहीन परिवारहरूलाई विजुलीको पहुँचमा ल्याउन तथा युवा पलायन रोक्न रोजगारी तथा व्यवहारिक शिक्षाको अवसर सिर्जना गर्न नगरपालिकालाई आग्रह गरिएको छ।
यसैगरी, उक्त ज्ञापनपत्रमार्फ़त स्थानिय पाठ्यक्रम निर्माण गर्न, नगरपालिकाले लिजमा दिएका सटरहरूको पुनर्मूल्यांकन गर्न तथा लिज सम्झौतासम्बन्धी नयाँ नीति अवलम्बन गर्न समेत आग्रह गरिएको छ।
