बागमती प्रदेशको बजेट २५ प्रतिशत मात्र खर्च

काठमाडौँ । बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुन महिना सम्ममा कूल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्दराज सन्यालका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको अवधिमा कूल बजेटको २५ दशमलव ६२ प्रतिशत बजेट खर्च भएको छ ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकोमा आठ महिना सकिँदा १० अर्ब ५० करोड २९ लाख नौ हजार बजेट खर्च भएको उनले बताए । बजेटमध्ये चालुको तुलनामा पुँजीगत तर्फको बजेट कम खर्च भएको उनको भनाइ छ । सो अवधिमा चालु तर्फ ३५ दशमलव २२ प्रतिशत र पुँजीगत तर्फ १९ दशमलव ९४ प्रतिशत बजेट खर्च भएको छ ।
विनियोजित बजेटमध्ये सबै भन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४७ दशमलव ६९ प्रतिशत, प्रदेशसभा सचिवालयले ३८ दशमलव २२ प्रतिशत बजेट खर्च गरेको छ भने सबै भन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले नौ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको छ । योजनाहरु कार्यान्वयनमा जान नसकेकाले खर्च कम देखिएको सूचना अधिकारी सन्यालले बताए ।
बागमती प्रदेश सरकारको राजस्व सङ्कलन बर्सेनि घट्दो
बागमती प्रदेश सरकारको राजस्व सङ्कलन बर्सेनि घट्दै गएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको अवधिमा बागमती सरकारले लक्ष्यको ३८ दशमलव १३ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ ।
बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुन मसान्तसम्ममा २४ अर्ब ६० करोड ६६ लाख ४५ हजार राजस्व सङ्कलन भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्र्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा आठ महिनाको अवधिमा ती सबै शीर्षकबाट २४ अर्ब ६० करोड ६६ लाख ४५ हजार मात्र राजस्व सङ्कलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सन्यालले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षमा राजस्व बाँडफाँडबाट २९ अर्ब ५५ करोड ८९ लाख राजस्व सङ्कलन हुने लक्ष्य लिएकोमा सो अवधिमा लक्ष्यको ४७ दशमलव ०३ प्रतिशत अर्थात् १३ अर्ब ९० करोड २७ लाख ६८ हजार मात्र राजस्व सङ्कलन भएको छ ।
यस्तै, सङघीय सरकारबाट १५ अर्ब ५७ करोड ५६ लाख अनुदान प्राप्त हुने अनुमान गरिएकोमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा लक्ष्यको ५२ दशमलव ५८ प्रतिशत अर्थात आठ अर्ब १८ करोड ९९ लाख ६४ हजार अनुदान प्राप्त भएको उनको भनाइ छ ।
प्रदेश सरकारको आन्तरिक स्रोतबाट चार अर्ब ५३ करोड ८४ लाख ७९ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा सो अवधिमा लक्ष्यको ५२ दशमलव ४१ प्रतिशत अर्थात् दुई अर्ब ३७ करोड ८५ लाख ८८ हजार राजस्व मात्र सङ्कलन भएको सूचना अधिकारी सन्यालले बताए ।
यसअघि अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बागमती प्रदेश सरकारको राजस्व नौ अर्ब तीन करोड ३१ लाख २७ कम सङ्कलन भएको थियो । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्र्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट ४८ अर्ब २५ करोड ४३ लाख ७५ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा ती सबै शीर्षकबाट ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार मात्र राजस्व सङ्कलन गर्न सकेको थियो । गत आर्थिक वर्ष २०७९/८० मा पनि बागमती प्रदेश सरकारले अनुमान गरेको भन्दा १७ प्रतिशत कम राजस्व सङ्कलन गरेको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा ५५ अर्ब ३१ करोड राजस्व सङ्कलनको अनुमान गरेकोमा ४५ अर्ब ८८ करोड राजस्व सङ्कलन गरेको थियो ।
सङ्घीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मालपोत लगायतका राजस्व सङ्कलनमा आएको कमी र आर्थिकमन्दीका कारण सङ्घीय सरकारले केही कार्यक्रम कटौती गर्नु जस्ता कारणले राजस्वमा कमी आएको बागमती प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद उपाध्यायको भनाइ छ । – रासस