समाजवादले मात्र महिलाहरुको हक अधिकारको ग्यारेण्टी गर्छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कालिकोटका इन्चार्ज विवेक सीले समाजवादले मात्र महिलाहरुको हक अधिकारको ग्यारेण्टी गर्ने ठोकुवा गरेका छन । अ.ने.म.संघ क्रान्तिकारी कालिकोटको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
उक्त बैठकलाई सम्बोधन गर्दै नेता विवेक सीले समाजवादी क्रान्तिमा एकताबद्ध भएर लाग्न महिलाहरुलाई अपिलसमेत गरे ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी बलवान सी, अ.ने.म.संघ क्रान्तिकारीका केन्द्रीय सदस्य सर्मिला सीले महिलाहरुको एकता विना समाजवादी क्रान्तिले पूर्णता नपाउने बताए उनीहरुले गणतन्त्रले हल नगरको मुद्धा समाजवादले मात्र हल गर्ने दाबी गर्दै स्वस्फुर्त रुपमा महिलाहरु समाजवादी क्रान्तिको यात्रामा लाग्नु पर्ने धारणा राखेका थिए ।
अ.ने.म.संघ क्रान्तिकारी कालिकोटको अध्यक्ष नविना सीको अध्यक्षतामा बसेको उक्त बैठकले समाजवादका लागि महिला नेतृत्व विकास अभियान संचालन गर्ने निर्णय गरेको बताइएको छ । बैठकले चैत्र २६ गतेको महिला प्रतिरोध दिवस पार्टीको आयोजनामा मान्ममा भव्य रुपमा मनाउने निर्णय पनि गरेको छ । स्मरणीय छ , २०५४ साल चैत्र २६ गते विथोल्डाँडामा महिलाहरुले जनदमनमा गएको प्रहरीसंग प्रतिरोध गरी हतियार खोसेको घटनालाई अ.ने.म.संघ क्रान्तिकारीले हरेक वर्ष प्रतिरोध दिवस मनाउदै आएको छ ।
तर यो बर्ष भने नेकपा को आयोजनामा नेकपाका प्रवक्ता प्रकाण्डकै उपस्थितिमा मान्ममा भव्य रुपमा प्रतिरोध दिवस मनाउने तयारी छ । त्यो कार्यक्रममा महिलाहरुलाई उल्लेखिय रुपमा सहभागीता गराउने अ.ने.म.संघ क्रान्तिकारीको बैठकले निर्णय गरेको हो ।
बैठकले समाजवादका लागि महिला नेतृत्व विकास अभियान मार्फत जिल्लाका सबैपालिका स्तरमा महिला संगठनहरु बनाउने पनि निर्णय गरेको छ ।
अ.ने.म.संघ क्रान्तिकारीले समाजवाद विना महिला मुक्ति सम्भव नहुने भन्दै समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि सबै महिलाहरुलाई संगठित गर्ने बताएको छ ।