उत्पीडित जाती र समुदायको मुक्तिका लागि संघर्ष अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले उत्पीडित जाती र समुदायको मुक्तिका लागि संघर्षको विकल्प नरहेको बताएका छन् । श्रमिक समुदाय मोर्चा नेपाल, बागमती प्रदेश समन्वय समितिको दोश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
अध्यक्ष रामलाल सीले आम जनता र देशको मुक्तिका लागि नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्ने जोड दिंदै नेकपा र संयुक्त मोर्चाले नयाँ निकास दिने विषयमा गम्भीर रुपले सोंचिरहेको बताए ।
यसैगरी, नेकपाका केन्द्रीय सदस्य तथा मोर्चाका केन्द्रीय सचिव उमेश सीले श्रमिक समुदायले नेतृत्व विकास गर्नका लागि सक्रियताका साथ संघर्ष गर्नुपर्नेमा जोड दिए ।
उक्त बैठकले पार्टीको वैचारिक संश्लेषणलाई मोर्चाले अवलम्बन गर्ने, गणतन्त्रवादी – गणतन्त्रवादी मित्र शक्तिहरुसंग सहकार्य गर्ने, नेपाली विशेषताको समाजवाद र श्रमिक समुदायको सवाल विषयमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ । त्यसैगरी संगठनको कामलाई तीव्रता दिने, विभेदका घटनाहरुमा सशक्त संघर्ष गर्ने, र स्थानीय देखि संघीय सरकारमा श्रमिक समुदायको अधिकार खोज गरी जनतालाई सुसूचित गर्ने लगायत निर्णय पनि बैठकले गरेको बताइएको छ ।
बैठक मोर्चाका बागमती प्रदेश इन्चार्ज पदम सीको अध्यक्षतामा सम्पन्न भएको थियो ।