नेकपा मकवानपुरद्वारा मसाल जुलुससहित कोणसभा सम्पन्न
 
                
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले मसाल जुलुससहितको कोणसभा गरेको छ। उक्त कोण सभालाई सम्बोधन गर्दै नेकपा मकवानपुरका सेक्रेटरी पेमा सीले राजतन्त्रतिर फर्किने दुष्प्रयास होइन समाजवादतर्फ जाने साहस गर्नुपर्ने बताए । सेक्रेटरी पेमा सीले विकासको सिधाान्तले सुरुवाती चरणतिर होइन अगाडि बढी नयाँ स्वरुप निर्धारण गर्नेतिर लक्षित गराउने भएकाले राजतन्त्र होइन अब समाजवाद तर्फ उन्मुख हुनुपर्ने बताए । उनले राजतन्त्र नेपाली जनताको चासो र आवस्यकताको कुरा नभई केही प्रतिगमनकारी विदेशी शक्तिको चासोको विषय भएको र नेपाली जनतालाई धार्मिक तथा राजनीतिक द्वन्दमा फसाएर नेपाली भूमिलाई रणमैदान बनाउन खोज्ने षड्यन्त्र भैरहेको हुँदा सम्पूर्ण नेपाली सचेत हुनुपर्ने बताए । साथै उनले राजावादीको नाममा उफ्रिरहेका केही उच्छृङ्खल र हिंसात्मक तत्वका कारण भोलिका दिनमा फेरि पत्रकार, सुरक्षाकर्मी लगायत कुनै पनि नेपाली जनता मारिन सक्ने हुँदा सचेत हुन अनुरोध गरेका छन् ।
सेक्रेटरी पेमा सीले हजारौं सहिदका बलिदान र आम नेपाली जनताको संघर्षको बलमा स्थापित गणतन्त्रको रक्षा र विकास गर्दै नेपाली समाजलाई समाजवाद तर्फ डोर्याउनु नेकपाको जिम्मेवारी भएकोले यश कार्यमा साथ दिन सबै देशभक्त नेपाली नागरिकमा अपिल समेत गरे । उनले पुँजीवादी संसदीय व्यवस्थालाई समाप्त गरि नेपाली विशेषताको समाजवाद स्थापना गर्नु अबको नेपाली समाजको लक्ष्य हो । त्यसकारण समाज विज्ञान र रुपान्तरणको नियमलाई आत्मसात गर्दै समाजवाद स्थापनाको लागि हातेमालो गर्न सबैलाई अपिल गरे ।
पछिल्लो चरणमा केही प्रतिगमनकारी समूहले देशमा पुन हिन्दु राज्य सहितको राजतन्त्र माग गर्दै गुण्डागर्दी शैलीमा नेपाली नागरिकको हत्या गर्ने, जनताका घर, उद्योग, सवारी साधन जलाउने जस्ता हिंसात्मक कार्यको विरुद्ध नेकपाले हेटौंडामा मसाल जुलुस गरेको हो । हेटौंडा-१ जरुवाटोलबाट सुरु भएको मसाल जुलुस राप्तिरोड हुँदै बुद्धचोकमा पुगि कोणसभामा परिणत भएको थियो ।
हेटौंडाको बुद्धचोकमा भएको उक्त कोणसभाको सन्चालन नेकपा मकवानपुरका जिल्ला सचिवालय सदस्य तथा नगर इन्चार्ज विवेक सीले गरेका हुन् ।

 
                 
                             
                             
                         
                         
                        