दुर्गा प्रसाईं पक्राउ , नेपाल ल्याइँदै

२०८१ चैत्र २९ गते, शुक्रबार


काठमाडौँ । चैत १५ गते प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका दुर्गा प्रसाईंलाई भारतमा पक्राउ गरी नेपाल ल्याइँदै छ । उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको अधिकारीहरूले बताएका छन् । उपद्रव मच्याएर भागेका प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए । काँकडभिट्टामा उनका समर्थहरूले अवरोध गर्ने सुरक्षा विश्लेषणको आधारमा नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याउने प्रहरीको तयारी छ ।
राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए । त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्‍याएका थिए । घटनामा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको ज्यान गएको थियो भने १२९ जना घाइते भएका थिए, पाँच जना अझै अस्पतालमा छन् ।
प्रसाईं भागे पनि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महमन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरेको छ । प्रहरीले मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]