दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईं १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका अंगरक्षकलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर हुन् । उनी चैत १५ गतेदेखि नै फरार थिए । बिहीबार उनलाई भारत आसाम प्रहरीले नियन्त्रणमा लिएर आज नेपाल–भारत सीमा काँकडभिट्टामा ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको थियो ।
प्रहरीले भद्रपुरबाट विमानमार्फत ल्याइ अदालतमा पेस गरेको हो । विमानस्थलमा विमान चढ्ने क्रममा प्रसाईंले भने आफैं पक्राउ परेको बताएका थिए । प्रहरी नियन्त्रणकै क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रसाईंले आफू नआत्तिएको पनि बताएका थिए । प्रहरीले भने प्रसाईंलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको दाबी गरेको छ ।
प्रसाईंविरुद्ध प्रहरीले सुरुमा ३ वटा मुद्दामा अनुसन्धान गर्ने भएको छ । उनीमाथि राज्य विरुद्धको कसुर, सङ्गठित अपराध र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिने बुझिएको छ ।