छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ !

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले छिट्टै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने संकेत गरेका छन् । चितवनका सञ्चारकर्मीसँग कुरा गर्दै आफूले केही नयाँ अनुभवका आधारमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने कुरा गरेको बताएका हुन् ।
अब देश कांग्रेसको नेतृत्वमा सरकार बन्ने दिशातिर अगाडि बढ्ने विश्वास उनले लिएका छन् । आफूले प्रतिनिधिसभामा विश्वासको मत लिने बेलादेखि नै सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नु सही हुने बताइरहेको उनको जिकिर थियो ।
‘मैले त विश्वासको मत लिँदादेखि नै सही कुरा के हो भने सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने सही कुरा हो भनेको थिएँ’, उनले भने, ‘अहिले थुप्रै घटनाक्रम नयाँ भइसेका छन् । केही नयाँ अनुभवसहित यो कुरा भनेको हुँ । अहिले मलाई धेरै बोल्न नलगाउँदा राम्रो । केही नयाँ कुराका आधारमा यो कुरा भनेको हो । देश त्यही दिशातिर जान्छ ।’
प्रचण्डले आफ्नो ध्यान सरकारमा नभए पनि केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अगाडि जान सहज नरहेको परिस्थितिले देखाइरहेको सुनाए । यो सरकारविरुद्ध चौतर्फी आक्रोश, आवेग र असन्तुष्टि बढ्दै गएको बताउदै भने- ‘परिस्थिति निकै नै जटिल र पेचिलो बन्दै गएको छ’, मलाई लाग्छ, नयाँ वर्षले निकास लिएर आउँछ ।’
अध्यक्ष प्रचण्डले नेपालको वर्तमान राजनीतिमा कुनै पनि सम्भावना रहेको बताए । उनले यसअघि पनि कांग्रेसलाई साथ दिन तयार रहेको बताइरहेका छन् । यस भनेर कांग्रेस र एमालेबीच फाटो ल्याउन खोजे पनि उनी आफैंले भने सरकारमा नजाने जिकिर गरिरहेका छन् ।