नेकपा कपिलवस्तुद्वारा अवैध नदीजन्य पदार्थ उत्खनन रोक्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले वाणगंगा नगरपालिकालाई एक ज्ञापनपत्र बुझाउदै अवैध नदीजन्य पदार्थ उत्खनन रोक्न माग गरेको छ। सो पार्टीले बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक निर्माणका क्रममा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खनन तत्काल रोक्न माग गरेको छ।
नेकपाले नगरपालिकालाई बुझाएको ज्ञापनपत्रमा निर्माण कम्पनीले सम्झौताभन्दा बढी उत्खनन गरी राज्यको सम्पत्ति दोहन गरेको आरोप लगाएको छ। पार्टीले स्थानीय ऐन नियम र वातावरणीय सन्तुलनको समेत उल्लङ्घन भएको दाबी गरेको छ।
ज्ञापनपत्रमार्फत नेकपाले अवैध उत्खननमा संलग्नहरूको हिसाबकिताब सार्वजनिक गर्न, दोहोरो डम्पिङ बन्द गर्न, ड्युटी समय बाहिर हुने प्राविधिक कार्य रोक्न र कार्यस्थलमा मापदण्ड मिच्ने काम बन्द गर्नुपर्ने माग राखेको छ।
आफ्ना मागहरू पूरा नभएमा त्यसको जिम्मेवार वाणगंगा नगरपालिका स्वयं हुने चेतावनी नेकपाले दिएको छ। पार्टीले यस विषयमा सञ्चार जगत, नागरिक समाज र आम जनसमुदायलाई पनि ध्यानाकर्षण गराएको छ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले ज्ञापनपत्रमार्फत राखेजा प्रमुख मागहरू निम्न अनुसार छन्:
‘१. अवैध उत्खननमा संलग्नहरूको हिसाबकिताब सार्वजनिक गरिनुपर्ने।
२. दोहोरो डम्पिङ तत्काल बन्द गरिनुपर्ने।
३. ड्युटी समय बाहिर हुने प्राविधिक कार्य रोकिनुपर्ने।
४. कार्यस्थलमा मापदण्ड विपरीतका कार्यहरू बन्द गरिनुपर्ने।
५. मापदण्ड भन्दा गहिरो खन्न नदिने गरी प्राविधिक खटाइनुपर्ने।
६. डम्पिङ्ग साइडको सतह भत्कने गरी उत्खनन कार्य बन्द गर्नुपर्ने।
७. दोहन कार्यलाई सहायता पुऱ्याउने गरी कानुनी र प्राविधिक सहयोग भइरहेको जस्तो भान भइरहँदा नगरपालिका जिम्मेवार बन्नुपर्ने।’