नेकपा ललितपुरद्वारा पाटन अस्पताललाई ध्यानाकर्षण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यसंग भेट गरी जनस्तरबाट आएका गुनासो र समस्याहरुको अविलम्ब समाधान र सुधार गर्न ध्यानाकर्षण गराएको जनाएको छ।
नेकपाका केन्द्रीय सदस्य एवम् ललितपुर इन्चार्ज विपिन सीसहितको टोलीले उक्त अस्पताल पुगेर निर्देशक डा. रवि शाक्यलाई गुनासो/समस्याहरुको अविलम्ब समाधान/सुधार गर्न ध्यानाकर्षण गराएको हो ।
नेता विपिन सीसहितको टोलीले उ अस्पतालका निर्देशक डा. रवि शाक्यलाई निम्न बुदामा ध्यानाकर्षण गराएको बताइएको छ। जुन यस प्रकार रहेको छ –
१) अस्पतालमा दैनिक करिब २००० विरामी चेकजाँच र उपचारको लागि आउने तर विरामीको चाप अनुसार चेकजाँच/उपचार व्यवस्थित हुन नसकेको।
२) अस्पतालमा दुरविनको सहायताले सामान्य शल्यक्रिया गर्न करिब २ महिना, युरो सर्जरी गर्न करिब ४ हप्ता, नाक/कानको शल्यक्रिया गर्न करिब १२ हप्ता, इन्डोस्कोपी गर्न करिब ७/८ दिन, दुबै मृगौला फेल भएका बिरामीले नयाँ हेमोडाइलासिस सेवा लिन करिब ४/५ महिना लाग्ने समस्याले विरामीहरु हैरान भइ निजी अस्पतालमा गइ महँगो उपचार सेवा लिन बाध्य भइरहेको ।
३) किड्नी ट्रान्सप्लान्ट, मुटुको जटिल शल्यक्रिया र विशेषज्ञ डाक्टरबाट गरिने ट्रमा सम्बन्धि उपचार सेवा उपलब्ध हुन नसकेको।
४) स्वास्थ्य विमा गरेका विरामीहरुले महँगो औषधि फार्मेसीमा किन्नुपर्ने बाध्यता रहेको । साथै अर्थोपेडिक सर्जरीमा प्रयोग हुने अति आवश्यक स-साना सामाग्री अस्पतालको फार्मेसीमा नपाइने समस्याले विरामीले महँगो शुल्क तिरेर बाहिरी फार्मेसीबाट खरिद गर्नुपर्ने बाध्यता रहेको।
५) रक्तदाताले दान दिएको रगत कतिपय बेला date-expired हुने र कतिपय बेला बिरामीलाई चाहिने रगत पनि नपाइने समस्या रहेको ।
६) कतिपय भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेको ।
७) भेन्टिलेटर लगायत अन्य मेडिकल सामाग्री खरिदमा व्यापारिक स्वार्थ समुहसङ्गको सेटिङमा महङ्गो सामाग्री खरिद गर्ने प्रक्रिया मिलाइ अनियमितता गर्ने गरेको ।
८) करार र अन्य कर्मचारी नियुक्तिमा सोर्सफोर्स चल्ने गरेको(नियुक्ति प्रक्रिया पारदर्शी नहुने समस्या।
९) अस्पतालले सवारी पार्किङ शुल्क नलिनुपर्नेमा झनै बढी शुल्क उठाएको ।
१०) गरिब/विपन्न तथा असहाय बिरामीहरुको उपचार नि:शुल्क हुनुपर्नेमा सहुलियतमा सेवा लिने प्रक्रिया समेत झन्झटिलो भएको।
११) अस्पतालका कतिपय स्थायी डाक्टरहरु अस्पताल मै पुर्णकालिन सेवामा रहनुपर्नेमा निजि क्लिनिक एवम् इन्स्टिच्युट संचालन गरिरहेको ।
अन्त्यमा निर्देशक डा. रवि शाक्य नेकपाले गराएको ध्यानाकर्षणप्रति आफू र आफ्नो संस्था संवेदनशील र सकारात्मक भएको, सुधार गर्नुपर्ने क्षेत्रमा क्रमशः सुधार गर्दै जाने, त्यसको रणनीति बनाउने प्रतिबद्धता जाहेर गर्दै अस्पतालको मुल समस्या थप भवन लगायत भौतिक पुर्वाधारको अभाव भएकोले त्यसको पुर्तिको लागि राज्यलाई ध्यानाकर्षण गराउन पार्टीले आवाज उठाएर सहयोग गर्नुपर्ने बताएका थिए ।