६ महिला सङ्गठनद्वारा गणतन्त्रका पक्षमा आवाज बुलन्द बनाउन आह्वान

२०८२ बैशाख ९ गते, मंगलवार


काठमाडौँ । बिभिन्न राजनीतिक दलनिकट ६ महिला सङ्गठनले गणतन्त्रका पक्षमा आवाज बुलन्द बनाउन आह्वान गरेका छन। अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीलगायत ६ संगठनले सोमबार संयुक्त बिज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन्।
ति संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै गणतन्त्रको रक्षाका लागि एकजुट हुने सङ्कल्पसमेत व्यक्त गरेका छन् । विज्ञप्तिमा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनमा महिलाको ठुलो योगदान भएको बताउँदै सो आन्दोलनको परिणामस्वरूप केन्द्रीय, प्रदेश र स्थानीय तहमा महिलाको प्रतिनिधित्व कायम हुँदै गएको उल्लेख गरिएको छ ।
यसैगरी , उक्त बिज्ञप्तिमा देशमा अझै पनि सामन्तवादी सामाजिक सांस्कृतिक अवशेष यथावत् रहेकाले समानता, समतामूलक समाज निर्माण, महिला हिंसा, कुप्रथा, हत्या, अपहरण, बलात्कारजस्ता विकृतिका विरुद्ध आफूहरू लडिरहेको बताइएको छ ।पछिल्लो समयमा जनआन्दोलनको उपलब्धि उल्ट्याउन पश्चगामी तत्त्वहरू सक्रिय रहेको विज्ञप्तिमा उल्लेख छ । यस सन्दर्भमा विज्ञप्तिमा चैत १५ गतेको घटनाको उल्लेख गरिएको छ ।जनताले आर्यघाटमा पुऱ्याइसकेका प्रतिगामीहरू पुनः सलबलाउन थालेको उल्लेख गर्दै विज्ञप्तिमा प्रतिगामी राजावादी विरुद्ध लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकासमा लाग्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
विज्ञप्तिमा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द ,अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, नेपाल महिला सङ्घकी अध्यक्ष उषा राउत, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष टुकाभद्र हमाल, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष अमृता थापा र अखिल नेपाल महिला सङ्घ (समाजवादी) की अध्यक्ष जयन्ती राईको हस्ताक्षर रहेको छ ।
उक्त विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ- ‘नेपालको लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनमा नेपाली महिलाहरुको ठूलो योगदान रहेको छ । २४० वर्षिय बबर्रतापूर्ण पञ्चायती सामन्तवादी पितृसत्तात्मक शासनका विरुद्ध आमजनतालाई सचेत गराउने र परिवर्तनको आन्दोलनमा होमिने विषय होस वा महिला अधिकार र आमजनताका जनजीविकाका सवालमा नेपाली महिला आन्दोलनले शसक्त आवाज उठाउँदै आएको छ । जसले गर्दा नीतिगत तहमा एकतिहाई महिला सहभागिता सुनिश्चित भएको छ । स्थानीय तहमा वडा र पालिका तहमा महिलाको प्रतिनिधित्व र नेतृत्व कायम गर्न कानून निर्माण भएको
छ, जसले प्रमुख र उपप्रमुखमध्य एक महिला हुने व्यवस्था गरेको छ । राज्यको प्रमुख पदहरुमा पनि महिला नेतृत्व स्थापित गर्ने, समाजवाद उन्मुख संविधानको निर्माण भएको छ । कार्यथलोमा महिला सहभागिता बृद्धिका लागि कानून बनाउने र कानून कार्यान्वयनका लागि मार्ग प्रशस्त भएको छ । लोकतीन्त्रिक गणतन्त्र स्थापना भएपश्चात जनताले आफ्‌ना मागहरु राख्न पाउने, आफुलाई लागेका विषयमा छलफल अन्तरक्रिया गर्न पाउने अवस्था सृजना भएको छ ।
नेपालमा भएका विभिन्न आन्दोलनहरुबाट थुप्रै उपलब्धीहरु प्राप्त भएको भएता अझै समाजमा व्याप्त सामन्तवादी सामाजिक सांस्कृतिक अवशेषहरुले महिला समानता, समतामुलक समाज निमार्ण, महिला हिंसा, कुप्रथा, हत्या हिंसा, अपहरण, बलत्कार, जस्ता अराजकताका विरुद्धमा हामी लडिरहेका छौं । राजनीतिक परिवर्तनका साथसाथै सामाजिक, आर्थिक, सांस्कृतिक परिवर्तनमा महिलाहरुको भूमिका सुनिश्चित गर्न नेपालका महिला संगठनहरु, परिवर्तनका पक्षधरहरुका साथै आमजनताहरु लागि रहेको बखत, आर्यघाटमा पुर्याई संकेको राजतन्त्रको नाममा लोकतन्त्र र गणतन्त्र विरोधीहरुले पश्चगामी कदम चाल्न लागिरहेको छ, जबजब राष्ट्रलाई आवश्यकता पर्दछ, तबतब नेपालका
महिला संघ-संगठनहरु एकजुट भएको इतिहास छ । फेरी पनि आवश्यक परे एकजुट भएर सामना गर्न प्रतिवद्ध छौं ।
गत चैत १५ गतेको घटना त्यसको एउटा उदाहरण हो । त्यस दिन कथित राजावादीको नाममा, आफ्‌नो कर्ममा लागेका श्रमजीवि पत्रकार र सर्वसाधारण नागरिकको हत्या, पार्टी कार्यालय तोडफोड, व्यावसायिक संस्था तथा सार्वजनिक सम्पत्तिमा आगजनी, व्यक्तिगत सम्पत्ति तोडफोड गर्ने देखि जनतालाई भड्‌काउन र समाजमा त्रासदीपूर्ण वातावरण सृजनाका लागि जुनखालको हिंसात्मक र अमानविय गतिविधी प्रस्तुत गर्यो, त्यसले लोकतन्त्रिक शक्तिहरु एकजुट भएर लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकासका लागि लाग्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।
यस विषयलाई महशुस गरेर नेपाली महिला आन्दोलनका मूल प्रभावमा रहेका सबै महिला संगठनहरु लोकतान्त्रिक गणतन्त्रको विरुद्ध हुने सबै खाले भ्रामक प्रचार, अपराधिक गतिविधिहरुका बिरुद्ध, उत्श्रृंखल तत्वहरु माथि कडा निगरानी गर्दै एकजुट भएर प्रतिवाद गर्न तयार छौं । सबै महिला तथा गणतन्त्रका पक्षपाती संघ-संस्थाहरु, आमजनसमूदायलाई एकजुट भएर लोकतन्त्र र गणतन्त्रका पक्षमा आवाजहरु बुलन्द बनाउन हार्दिक आह्वान गर्दछौं ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु