युवा संघ पर्वतको भेलामा झडप

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल, पर्वतको जिल्ला भेलामा भएको झडप भएको छ । अधिवेशन गर्ने कि नगर्ने भन्ने विवादलाई लिएर सोमबार जिल्ला पार्टी कार्यालयमा दुई पक्षबीच झडप भएको हो। उक्त झडपमा परेर संघका केन्द्रीय सदस्य अर्जुन पौडेल घाइते भएका छन्। झडपका क्रममा केन्द्रीय सदस्य पौडेलको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ। अन्य केही नेताहरू पनि सामान्य घाइते भएका छन्।
झडप सुरु हुनुको कारणमध्ये एक पक्षले पार्टी पदाधिकारीमाथि हातपात प्रयास गरेको दाबी गरिएको छ। युवा संघका अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकाली अधिवेशन नगर्ने पक्षमा थिए । तर, एमाले पर्वतको पहलमा बोलाइएको अधिवेशनमा झडप हुँदा पौडेल घाइते भएका हुन् ।
पार्टी स्रोतका अनुसार आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने राष्ट्रिय महाधिवेशनका लागि जिल्ला कमिटी र प्रतिनिधि चयन गर्नुपर्ने आवश्यकताका आधारमा केन्द्रको निर्देशनमा आयोजक कमिटी गठन गर्न भेला बोलाइएको थियो।
एमाले पर्वतका जिल्ला अध्यक्ष गोविन्द गिरीका अनुसार एउटा समूहको विरोधकाबीच अहिले कार्यक्रम भइरहेको छ ।