‘कोरियामा मौसमी कामदार पठाउन कुनै निर्णय भएको छैन’

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गर्दै कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ । मन्त्रालयले सामाजिक सञ्जालमा ‘नेपाल सरकार र कोरिया सरकारबीच यस्तो सम्झौता भएको र भगिनी सम्झौता कायम गरेका स्थानीय तहले मन्त्रालयमा सम्पर्क गर्नू’ भन्ने बेहोराको पत्र प्रेसित भएको भेटिएपछि सूचना जारी गरेको हो ।
यसअघि मन्त्रालयले माघ २०८१ मा समेत स्पष्टीकरण सार्वजनिक गर्दै यस्तो सम्झौता नभएको बताएको थियो । मन्त्रालयले भनेको छ -‘यस विषयमा मन्त्रालयबाट कुनै निर्णय नभएको, मौसमी कामदारका विषयमा हालसम्म कुनै मितिमा कुनै पनि सूचना आह्वान नभएको तथा आधारहीन र तथ्यहीन विषयमा मन्त्रालयको लेटरहेड र छापको दुरुपयोग गरिएको हो ।’
मन्त्रालयले यस्तो काममा संलग्नमाथि कारबाही गर्न सम्बन्धित निकायमा पत्र पठाइएको भन्दै स्पष्ट पारेको छ ।
