महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेशन पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले वार्षिक प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम प्रत्येक आर्थिक वर्षको महालेखापरीक्षकको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार र जवाफदेही बन्नु आवश्यक रहेको बताए।
‘सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण अवस्था हो, सुशासन कायम गराउन सरकारी कोष सञ्चालन गर्ने सम्बद्ध सबै पदाधिकारीलाई थप जिम्मेवार र जवाफदेही बनाउने सन्दर्भमा महालेखा परीक्षकको भूमिका महत्वपूर्ण हुन्छ भन्ने मैले ठानेको छु’, पौडेलले भने।
विगत लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको उनको भनाइ थियो । उनले महालेखा परीक्षकबाट सरकारी वा सार्वजनिक स्रोतसाधन तथा सम्पत्तिको सदुपयोग भए नभएको, अनियमितता वा हानिनोक्सानी भए नभएको समेतको विषय परीक्षण हुँदै आएको सन्दर्भमा यस प्रतिवेदनमा औँल्याइएका विषयहरूले सम्बन्धित निकायलाई आर्थिक अनुशासन तथा वित्तीय उत्तरदायित्वप्रति थप सजग गराउने विश्वास व्यक्त गरे।