पूर्वमन्त्री मोहन बस्नेतलगायत १६ जनामाथि भ्रष्टाचार मुद्दा दायर
 
                
काठमाडौँ । पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा संलग्न भएको आरोपमा उनीहरुमाथि विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
आरोपितहरूमा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र अन्य कम्पनीका प्रतिनिधिहरू समेत परेका छन्। उनीहरूमाथि राज्यलाई तीन अर्ब २१ करोडभन्दा बढीको आर्थिक क्षति पुर्याएको दाबी गरिएको छ।
बस्नेत हाल प्रतिनिधिसभाका सांसद हुन् र सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित छन्। उक्त मुद्दालाई सरकारी निकायमा व्यापक अनियमितता र पारदर्शिताको अभावविरुद्ध उठाइएको एउटा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।
तत्कालीन मन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रूपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिएको र सोही निर्देशन अनुसार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीहरूले एक आपसमा मिलेमतो गरी प्रचलित कानुन विपरीत कार्य गरेको अख्तियारको ठहर छ ।

 
                 
                             
                             
                         
                         
                        