वरिष्ठ अधिवक्ता शम्भु थापालाई क्षमायाचना गर्न आग्रह

२०८२ जेष्ठ २४ गते, शुक्रबार


काठमाडौं । नेपाल पत्रकार महासंघले वरिष्ठ अधिवक्ता शम्भु थापाले आफ्नो पेशागत जिम्मेवारीमा रहेर समाचार संकलन गरिरहेका फोटो पत्रकार उमेश कार्कीमाथि गरेको दुव्र्यवहारप्रति ध्यानाकर्षण भएको जनाउदै थापालाई यस घटनामा क्षमायाचना गर्न आग्रह गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले आज एक बिज्ञप्ति जारी गर्दै थापालाई क्षमायाचना गर्न आग्रह गरेका हुन् ।
महासचिव दाहालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘नेपाल बारका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापाले फोटो पत्रकार उमेश कार्कीको क्यामेरा हातले पन्छाएर फोटो खिच्न अवरोध गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
समाचार संकलनार्थ क्यामेराबाट भिडियो खिच्न खोज्दा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको कार्यालय परिसरमा कार्कीमाथि थापाबाट जेठ २२ गते बिहीबार यस किसिमको हर्कत भएको महासंघको एसोसिएट प्रदेश समितिले जनाएको छ ।
स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि न्याय क्षेत्रका जिम्मेवार व्यक्तिबाट भएको यो व्यवहार व्यावसायिक मर्यादाविपरीत हुनुका साथै अशोभनीय र आपत्तिजनक छ । सार्वजनिक स्थलमा कुनै पनि सार्वजनिक व्यक्तिका बारेमा भिडियो र फोटो खिच्नु तथा प्रश्न सोध्नु पत्रकारको पेशागत धर्म हो । यसमाथि हमला हुनु खेदजनक कार्य हो ।
महासंघ प्रेसको संविधानप्रदत्त अधिकारको सम्मान गर्न र आगामी दिनमा यस किसिमका घटना दोहोरिन नदिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ । र, थापालाई यस घटनामा क्षमायाचना गर्न आग्रह गर्दछ ।’

प्रतिक्रियाहरु

[anycomment]