‘जनक्रान्तिविरुद्ध खुफिया शैलीमा संलग्न हुने प्रयासप्रति सचेत रहौं’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले जनक्रान्तिविरुद्ध खुफिया शैलीमा संलग्न हुने प्रयासप्रति सम्पूर्ण पार्टीपंक्ति, जनसमुदायमा सचेत रहन आग्रह गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज युगिन सी र केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला सेक्रेटरी साेनाम सीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक अपचलन, विचारहीन गुटबन्दी, संगठन विरोधी गतिविधि गर्ने किरण, नारायण र दिपकलाई निष्कासन गरिएको जानकारी गराएका छन् ।
आर्थिक विभागमा रहेका नारायणलाई पहिलेदेखि नै पार्टी विधि पद्धतिविपरित पार्टीको नाममा विभिन्न निकायहरूसँग आर्थिक संकलन गरी चरम हिनामिना गरेको प्रमाणित भएपछि उनलाई पहिल्यै जिम्मेवारीबाट मुक्त गरिएको थियो ।
अन्य १२ जनाको राजनीतिक स्वतन्त्रता हनन हुनेगरी किर्ते हस्ताक्षर भएको भन्दै नेकपा सिन्धुपाल्चोक जिल्लाले अन्य सदस्यहरुको जानकारी, सहमति वा वैचारिक निर्णय नरहेको पुष्टि भइसकेको जनाएको छ ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज युगिन सी र केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला सेक्रेटरी साेनाम सीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘नेपाल आज साम्राज्यवादी, उत्तरसाम्राज्यवादी र दलाल पुँजीवादी हस्तक्षेपको गहिरो संकटमा रहेको सन्दर्भमा नेपाली समाजको मुक्तिको एकमात्र विकल्पका रूपमा नेपाली विशेषताको समाजवाद स्थापनार्थ नेकपाको नेतृत्वमा संचालित एकीकृत जनक्रान्ति दृढताका साथ अगाडि बढिरहेको छ । पार्टीले क्रान्तिको दिशा, नीति, विचार, अनुशासन र जनउत्तरदायित्वमा आधारित संगठनात्मक मूल्य र मान्यताहरुलाई सर्वोपरि मान्दै आएको छ । तर, पछिल्ला केही गतिविधिहरूले पार्टी अनुशासन र विचारको गम्भीर अवमूल्यन हुनेगरि केहि पात्रहरुले पार्टी परित्यागको नाममा गलत हवाला दिइरहेका छन् । यसै क्रममा पार्टीको केन्द्रिय प्रतिनिधि सदस्य क. किरण सी, जिल्ला सदस्य क. नारायण सी र क. दीपक सीले विगत केही समयदेखि विचारहीन गुटबन्दी, आर्थिक अपचलन, संगठन विरोधी गतिविधि र अनुशासनहीन कार्यलाई निरन्तरता दिँदै आएका थिए । आर्थिक विभागमा रहेका क. नारायण सीले केही समय अघिदेखि नै पार्टी विधि पद्धतिविपरित पार्टीको नाममा विभिन्न निकायहरूसँग आर्थिक संकलन गरी चरम हिनामिना गरेको प्रमाणित भएपछि उनलाई पहिल्यै जिम्मेवारीबाट मुक्त गरिएको थियो । हालै उनै नारायण, किरण र दिपकसीले धर्मेन्द्र गुटमा प्रवेश गर्दै १८ जनाको राजनीतिक स्वतन्त्रता हनन हुनेगरी किर्ते हस्ताक्षर भएको भ्रामक वक्तव्य जारी गरेका छन्, जसमा उल्लेखित अन्य सदस्यहरुको जानकारी, सहमति वा वैचारिक निर्णय नरहेको पुष्टि भइसकेको छ । चरम आर्थिक स्वार्थ, गुटप्रवृति र पदलोलुपतामा लिप्त तीनै जनालाई पार्टीबाट निष्कासन गरिएको जानकारी गराउँदछौँ । साथै अन्य कमरेडहरू अझैपनि पार्टीप्रति निष्ठावान् र प्रतिबद्ध रहेको जानकारी गराउँदछौँ । पार्टीविरुद्ध भ्रम फैलाउने, जनपंक्तिमा निराशा छर्ने र जनक्रान्तिविरुद्ध खुफिया शैलीमा संलग्न हुने प्रयासप्रति सम्पूर्ण पार्टीपंक्ति, जनसमुदायमा सचेत रहन आग्रह गर्दछौँ ।’
