दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन आदेश

२०८२ जेष्ठ ३१ गते, शुक्रबार


काठमाडौँ । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति सो आदेश जारी गरेको हो । राति झण्डै सवा १२ बजेमात्रै अदालतबाट प्रसाईंसहित ७ जना प्रतिवादीलाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भयो । सोही अनुसार, जिल्ला प्रहरी परिसर काठमाडौंले अहिले मुद्दा अनुसार काम अघि बढाएको छ । आदेश लेखनमा सहभागी शाखा अधिकृत बालाजी प्रसाद पाण्डेका अनुसार, आदेश १ सय ५५ पन्नाको छ ।
तीनकुने घटनामै संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बारेमा भने आजको आदेशमा केही उल्लेख छैन । अदालतमा उपस्थित नै नभएको भन्दै मिश्र र जबरालाई भने फरार प्रतिवादीको रुपमा अदालतले राखेको छ । ‘उपस्थित नै नभएको उहाँहरूको हकमा अभियोग दायर भएकै दिन फरार प्रतिवादीको हकमा पक्राउ पूर्जी जारी गर्ने भन्ने भएको छ,’ पाण्डेले भने, ‘पहिलै आदेश भइसकेको छ । अहिले केही आदेश गर्नुपर्ने नै छैन ।’
उनका अनुसार, आदेश लेखनको काम दुई दिनदेखि नै भइरहेको थियो । धेरै प्रतिवादी र अभियोग एकैसाथ भएकाले आदेश लेखनमा ढिलो भएको शाखा अधिकृत पाण्डेले बताए । धेरैको चासो रहेको यो आदेश लेखनमा न्यायाधीश कार्कीसँगै अदालतका कर्मचारी पनि थिए । साँझ ५ बजे नै थुनछेक बहस सकिए पनि रातिमात्रै आदेश सार्वजनिक भएको थियो ।
तीनकुने घटनापछि केही समय फरार भएर भारतबाट पक्राउ परेका प्रसाईंसहितको ओदश सार्वजनिक हुनुअघि अदालत परिसरमा भिड थियो । समर्थक, आफन्त, प्रहरी र सञ्चारकर्मीले अदातल अगाडि उपस्थित थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु