‘वैकल्पिक शक्तिसँग सहकार्य गरेर अघि बढ्नुको बिकल्प छैन ‘

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशभित्रकावैकल्पिक शक्तिसँग सहकार्य गरेर अघि बढ्नुको बिकल्प नभएको आव्हान गरेका छन। सो पार्टीद्वारा १०औँ पार्टी स्थापना दिवसका अवसरमा आयोजित ‘वैकल्पिक राजनीतिको अर्जुनदृष्टिःराजनीतिक पुनःसरचना, सुशासन र समृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
अध्यक्ष भट्टराईले नयाँ शक्तिलाई समेटेर वैकल्पिक राजनीतिलाई अगाडि बढाउन वैकल्पिक शक्तिसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। उनले युवा पुस्तामा वैकल्पिक राजनीतिक चेतना अभिवृद्धि गर्दै मुलुकको आर्थिक समृद्धिमा क्रियाशील हुनुपर्ने बताए।
अध्यक्ष भट्टराईले भने- ‘नयाँ शक्ति जुन उत्साहकासाथ सुरु गरिएको थियो पछिल्लो चरणमा अलिकति बरालिएकै हो, अपेक्षित उपलब्धि हाँसिल नभएकै हो,’ उनले भने, ‘उपलब्धिलाई टेकेर नेपाललाई समृद्धिको यात्रामा लैजाने भनेर सुरु गरेका थियौँ। तर यो किन अलमलमा पर्यो विमर्ष गर्ने धेरै पाटा छन्।’
यसैगरी , सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले अहिलेको राज्यको नेतृत्वसँग कोही पनि आशावादी नरहेको ठोकुवा गर्दै जनतालाई नेतृत्वसहित नयाँ वैकल्पिक धारा र निकास चाहिएको बताए।
उनले भने, “आजको राज्य भद्रगोल हुनेमा सबैभन्दा बढी जिम्मेवार माओवादी नै हो। यो कुरा गम्भीरतापूर्वक मनन गर्नुपर्छ। माओवादी भनेपछि प्रचण्ड र बाबुरामको कुरा मात्र होइन, हामी सबैको कुरा हो। नेपालमा राजनीतिक संक्रमण पैदा भयो भने त्यसले के के कुरा माग गर्छ भन्नेमा हामी प्रवेश गरेनौँ। हाम्रो ध्यान मन्त्री हुने, सांसद हुने, पद बाँडफाँड गर्नेतिर गयो। यो कुरामा हामी चुकेकै हौँ।”