माधव नेपालको पहिलो तारेख साउन १३ गते

काठमाडौँ । विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पहिलो तारेख आगामी साउन १३ गतेलाई तोकेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालको समेत संलग्नता किटान गर्दै दायर गरेको मुद्दामा फैसला सुनाउँदै ३५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
गत जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई विपक्षी बनाउँदै हदबन्दीभन्दा बढी जग्गा कम्पनीका नाममा बिक्री वितरण गर्न दिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।
भ्रष्टाचार मुद्दा दायर भएपछि पूर्वप्रधानमन्त्री नेपाल बुधबार आफैँ अदालतमा उपस्थित भएका थिए। बयान र थुनछेक बहसपछि धरौटीमा छाड्दै विशेषले नेपाललाई धरौटी तिर्न आदेश दिँदैर तारेख म्याद थमाएको छ।