माधव नेपाललाई भ्रष्टाचार मुद्दामा फसाउन खोजियो

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपाललाई षड्यन्त्रपूर्वक भ्रष्टाचार मुद्दामा फसाउन खोजिएको निष्कर्ष निकालेको छ । शुक्रबारदेखि काठमाडौंमा सुरू भएको सचिवालयको बैठकका क्रममा उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले अध्यक्ष नेपाललाई योजनावद्ध रुपमा फसाउन खोजिएको बताएका छन् । उनले भने -‘हाम्रो पार्टीमाथि स्थापनाकालदेखि नै षड्यन्त्र र प्रहारहरू हुँदै आएको छ र अध्यक्ष नेपालमाथि भ्रष्टाचारको मुद्दा लगाइनुलाई यसको शृङ्खलाकै रूपमा रहेको हाम्रा नेताहरूले बैठकमा धारणा राखेका छन। ‘
ज्वालाले पार्टी अध्यक्षकै रूपमा नेपालले बैठकको अध्यक्षता गरिरहेको र संसदीय दलको नेताबारे संसदीय दलकै बैठकबाट निर्णय गरिने बताए ।
बैठकमा अध्यक्ष नेपालले सरकारले प्रधानमन्त्री, मन्त्री र शक्तिशाली नेताहरूको क्षेत्रमा मात्र बजेट केन्द्रित गरेर प्राथमिकतामा पर्नुपर्ने क्षेत्रलाई बजेटविहीन बनाएको कुरा राखेको उनले जानकारी दिए ।
ज्वालाले भने – ‘सरकारले एकप्रकारले लुट्ने खालको बजेट ल्याएको छ, विदेशमा रहेका नेपालीहरू असुरक्षित रहेका छन् । महंगी बढेका छन्, यिनै समसामयिक विषयमा अध्यक्षले कुरा राख्नुभयो। उहाँले पतञ्जलि जग्गा प्रकरणको बारेमा विस्तारमा ब्रिफिङ पनि गर्नुभयो ।’
बैठकका वक्ताहरूले समकालीन नेताहरूमा सबैभन्दा स्वच्छ, सादगी र किफायती जीवनशैली बाँचिरहेका नेपालमाथि नै भ्रष्टाचारको मुद्दा लगाउनु राजनीतिक प्रतिशोधको प्रतिफल भएको निष्कर्ष निकालेको प्रवक्ता ज्वालाले जानकारी दिए ।
उनले भने – ‘यो पार्टी र आन्दोलनमाथिकै प्रहार हो भनेर साथीहरूले कुरा राख्नुभएको छ। हामीमाथि राजनीतिक प्रतिशोधका साथ प्रहार गरिएकोले कानुनी उपचारका निम्ति सबैखाले प्रयास गरिनेछ, कानुनी रूपमै फेस गर्छौं, हामीले सफाइ पनि पाउँछौं ।’
बैठकले उखु किसानलाई अनुदान दिन बन्द गर्ने सरकारी निर्णयको विरोध गर्दै उक्त निर्णय सच्याउन माग गरेको छ ।