‘साम्राज्यवादबिरुद्ध विश्वका सम्पूर्ण उत्पीडित देश र जनता एकजुट हुनुपर्छ’

२०८२ असार २७ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित १२ राजनीतिक दल , संस्था र नागरिकहरुले साम्राज्यवादबिरुद्ध विश्वका सम्पूर्ण उत्पीडित देश र जनता एकजुट हुनु पर्ने बताउदै बिश्वभरिका उत्पीडित संघर्षमा उत्रिए साम्राज्यवाद धुलोपिठो हुने उद्घोष गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीसहित नेकपा (माओवादी – केन्द्र), नेकपा (एकीकृत – समाजवादी) , नेकपा (मसाल) , क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल , नेकपा , नेकपा (बहुमत), जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी , जसपा , राष्ट्रिय जनमोर्चा, नेपाल , देशभक्त समाजवादी स्कुल र राजनीतिक सम्वाद अभियानद्वारा शुक्रबार काठमाडौँमा आयोजित प्यालेस्टाइनमाथिको आक्रमण र नरसंहार तथा इरानमाथिको हमलाबिरुद्ध आयोजित बिरोध प्रदर्शन पछि आयोजित सभालाई सम्बोधन गर्दै वक्ताहरुले सो उद्घोष गरेका हुन्।
उक्त बिरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य चिरन सीले उत्पीडित बर्ग एकजुट भए साम्राज्यवादले हराउन नसक्ने बताए । उनले प्यालेस्टाइनमा नरसंहार बन्द गर्न र इरानको सार्बभौमिकता सम्मान गर्न आग्रह गर्दै गित प्रस्तुत गरेका थिए ।
जुन यस प्रकार रहेको छ –
आवाजमा आवाज मिलाई
साथमा हात हिलाई
एकै स्वरमा भनौ अब ससारैबाट
प्यालेस्टाइनबाट इजरायल फिर्ता जा,
मध्यपुर्बबाट अमेरिका फिर्ता जा,
ससारैबाट साम्राज्यवाद फिर्ता जा,
हामी चाहन्छौ,
प्यालेस्टाइन नरसंहार बन्द गर,
हामी चाहन्छौ,
इरानको सार्बभौमिकता सम्मान गर
हामी चाहन्छौ,
इजरायली फासीवाद अन्त्य गर,
हामी चाहन्छौ,
प्यालेस्टाइन सार्बभौमसत्ता रक्षागर
आवाजमा आवाज मिलाई,
साथमा हात मिलाई ।
हामी चाहन्छौ,
साम्राज्यवादी युद्ध बन्द गर,
हामी चाहन्छौ,
विश्व भरी अतिक्रमण अन्त्य गर
हामी चाहन्छौ,
ससार भरी हत्या हिंसा बन्द गर,
हामी चाहन्छौ,
युद्ध होइन शान्ती कायम गर ।
यसैगरी, उक्त विरोध सभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य राम सिंङ श्रीसले साम्राज्यवाद भनेकै युुद्ध भएको र साम्राज्यवादको अन्त्य नहुँदासम्म कुनै न कुनै रुपको युद्ध चलिरहने बताए । उनले साम्राज्यवाद अत्याचारी हुने ,शोषणमा आधारित हुने ,कमजोर देशलाई शोषण दमन गर्ने ,कमजोर देशका प्राकृतिक सा्रेत साधनहरु लुट्ने भएकाले युद्ध चलिरहने बताए ।


नेता श्रीसले प्यालेष्टाइनी जनताको संघर्ष र इरानी जनताले साम्राज्यवादका विरुद्धमा देखाएको दृढतालाई सम्मान गर्दै भने- “अमेरिकाले आफूले आणविक अस्त्र निर्माण गरेको छ । अरु देशहरुलाई विश्व शान्ति कायम गर्नकालागि आणविक अस्त्र नष्ट गर्नु पर्छ भन्छ ।यदि साँच्चै विश्व शान्ति कायम गर्ने हो भने आणविक अस्त्र नष्ट गर्न अमेरिकाबाट शुरु गर्नु पर्छ । ”
नेता श्रीसले साम्राज्यवादको विरुद्धमा सबै साम्राज्यवाद विरोधी शक्तिहरु एक हुनु पर्नेमा जोड दिए ।
यसैगरी, उक्त विरोध सभालाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले मध्यपूर्वको युद्धबाट दक्षिण एशियाले पनि पाठ सिक्नु पर्ने बताए । उनले साम्राज्यवादका विरुद्धमा संघर्ष गर्न तीन तहबाट एक राजनीतिक मोर्चा ,साँस्कृतिक र आर्थिक तहबाट संघर्षको तयारी गर्नु पर्ने बताए ।
नेता आहुतिले भने – “राजनीतिक रुपले बलियो साम्राज्यवाद विरोधी मोर्चा बनाउनु पर्छ आर्थिक रुपले नवउदारवादलाई परास्त गर्न समुदायलाई पनि सँगसँगै लिएर आधुनिक प्रविधिको पनि प्रयोग गर्दै राष्ट्रिय स्वाधिनता र राष्ट्रिय आत्म निर्भरतालाई बलियो बनाउने नेपाली मौलिकता अनुसारको अर्थतन्त्रको विकास गर्न छलफल अगाडि बढाउनु पर्छ र तेस्रो साम्राज्यवादी उपभोक्तावादी संस्कृतिका विरुद्धमा प्रगतिशील संस्कृति निर्माणतर्फ ध्यान दिनु पर्छ । वहाँले मध्यपूर्वको पेट्रोलियम पदार्थ कब्जा गर्नकालागि दोस्रो विश्वयुद्ध सकिएसँगै बेलायत ,फ्रान्स र अमेरिकाले प्रोक्सी राज्य इजरायल खडा गरेर युद्धको बिउ रोपेर छाडेका हुन् । मध्यपूर्वबाट बेलायत निस्कनु परेपनि त्यहाँको प्राकृतिक स्रोत साधन कब्जा गर्नकोलागि उनीहरुले युद्धको बिउ रोपेका हुन् जो अहिले पनि चलिरहेकै छ । यसबाट दक्षिण एशियाले पाठ सिक्नु पर्दछ । एमसीसी जस्ता परियोजनाहरु साम्राज्यवादको नियोजित स्वार्थ अनुसार आएका हुन्। “
यसैगरी, उक्त विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमार्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले अघोषित रुपमा विश्वयुद्ध भइरहेको बताए । उनले विभिन्न विषयमा मतभेदका वाबजुत अहिले हामीले साम्राज्यवाद विरुद्ध एक भएर विरोध प्रदर्शन गरेको बताए ।
यसैगरी, उक्त विरोध सभालाई सम्बोधन गर्दै नेकपा बहुमतका पिविएम सागर लिम्बुले इजरायली आक्रमणको निन्दा गरेर मात्रै नपुग्ने भन्दै इजरायलसँग कुटनीतिक सम्बन्धबारे पनि पुर्नविचार गर्नु पर्ने बताए ।
यसैगरी, उक्त विरोध सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोख्रेल, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे , जनता समाजवादी पार्टीका राजु थापा, जसपाका मोहम्मद खालिद सिद्धिकी , देशभक्त समाजवादी मोर्चाका गोपाल किराँती, नेसपाका कमल बुढाथोकी लगायतले साम्राज्यवादले युद्धको खेती गरि रहेको तथ्य प्रस्तुत गर्दै साम्राज्यवाद रहँदा सम्म युद्ध रहि रहने जिकिर गरेका थिए। उनीहरुले इरान र प्यालेष्टाइन माथिको अमेरिकी र इजराइली आक्रमण तत्काल बन्द गर्न माग गर्दै न्यायप्रेमी जनता र उत्पीडित राष्ट्रहरूले अझ लामो लडाई लडन बाँकी रहेको समेत बताएका थिए ।
उक्त विरोध प्रदर्शनको अध्यक्षता नेकपाका अध्यक्ष ऋषि कट्टेलले गरेका थिए भने सञ्चालन नेकपा मसालका समिर सिंह र स्वागत जनता समाजवादीका लालबहादुर तामाङले गरेका थिए ।
शुक्रबार दिउँसो काठमाडौँको शान्तिबाटिका, जमल, घण्टाघर, बागबजार, पुतलिसडक हुँदै प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत भएको उक्त विरोध प्रदर्शनमा विश्व साम्राज्यवाद –मुर्दावाद ! साम्राज्यवादी युद्ध– बन्द गर ! ,प्यालेष्टाइन माथिको जनसंहार – बन्द गर !, इजरायली फासीवाद – मुर्दावाद ! ,इरानको सार्वभौमिकताको – रक्षा गर ! विश्व शान्ति – कायम गर !,प्यालेष्टाइनी सार्वभौमिकताको रक्षा गर ! राष्ट्रिय स्वाधिनताको रक्षा गरौं । संयुक्त राष्ट्रसंघको वडापत्र – पालना गर ! प्यालेष्टाइन माथिको आक्रमण – बन्द गर ! र असंलग्न परराष्ट्र नीति लागू गर भन्ने नाराहरु लगाइएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]