पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव पाठक ‘श्री ५ महाराजधिराज’ नलेख्ने सर्तमा छुटे

२०८२ असार २८ गते, शनिबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठक पूर्वराजा ज्ञानेन्द्र शाहलाई अबदेखि ‘श्री ५ महाराजाधिराज’ नलेख्ने कागज गरेर छुटेका छन्  । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहाराले उनलाई कागज गराएपछि शुक्रबार साँझ परिवारको जिम्मा लगाइएको जानकारी दिए । संविधानले नचिन्ने सम्बोधनसहित सामाजिक सञ्जालमा पोस्ट र विज्ञप्ति निकालेको भन्दै उनलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारीका अनुसार, उनीविरुद्ध जनगुनासो आइरहेको थियो । पाठकले पूर्वराजाको विज्ञप्ति निकाल्ने बेला पूर्वराजालाई श्री ५ महाराजाधिराज नै लेख्ने गरेका छन्, जुन संविधानअनुसार छैन । पूर्वराजाको संवाद सचिव पाठकले गत असार १३ गते सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवको ७९औं शुभजन्मोत्सव मनाउने भन्दै सूचना जारी गरेका थिए । संवाद सचिवालयबाट हरेक पटक प्रकाशित हुने सूचनामा उनले पूर्वराजालाई श्री ५ महाराजाधिराज नै सम्बोधन गर्ने गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]