‘ युवा पुस्ताको आवाजको सुनुवाई भएन’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले कम्युनिस्ट पार्टीले युवा पुस्ताको आवाज सुन्न नसकेको बताएका छन् । स्कुल अफ माक्र्सिज्मद्वारा ४७औं पुष्पलाल स्मृतिमा आयोजित वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले युवा पुस्ताले नेतृत्व हस्तान्तरणको बहस उठाउँदा सुनुवाई नभएकोमा असन्तुष्टि ब्यक्त गरे । । उनले एमालेको सचिवालय बैठक र केन्द्रीय समिति बैठकमा पार्टीका थुप्रै नेताहरुले अझै पनि अध्यक्ष ओलीको विकल्प नरहेको बताएकोप्रति कटाक्ष गर्दै भने – ‘एउटा जमात यस्तो च्यालेन्ज गर्दैछ, अर्को जमात आजै त्यता च्यासलतिर १० वर्ष, २० होइन, तिमी आजीवन मरणोपरात्न भइराख्नु भनेर आरती उतार्दैछ, यो कस्तो विरोधाभास हो ?’
यसैगरी, महासचिव घनश्याम भुसालले अहिलेको राजनीतिले जनतामा भयङ्कर असन्तुष्टि सृजना गरिरहेको बताउदै भने – ‘जस्तो पनि गठबन्धन बनाउने र राज्यको दोहन गर्ने जुन राजनीति स्थापित गरिँदैछ। यसले जनतामा भयङ्कर असन्तुष्टि उत्पन्न गर्दैछ र त्यसमाथि पपुलिस्टहरूले खेल्दैछन। ‘ ।
महासचिव भुसालले कम्युनिष्ट पार्टीको नेतृत्वबाट हट्न नमान्ने नेताहरूका प्रति पनि कडा व्यग्य गर्दै भने- ‘हाम्रो आन्दोलनको नेतृत्व के भन्छ भन्दा अब २० वर्ष कसैले मेरो कुर्सी नहेर्नू, अर्कोले लजाइ-लजाइ बीसै वर्ष त होइन, १०/१५ वर्ष मैले अरुलाई तयार गर्छु र छोड्दिन्छु। अर्को जमात यस्तो च्यालेन्ज गर्दैछ, आजै त्यता च्यासलतिर १० वर्ष, २० वर्ष होइन, तिमी आजीवन मरणोपान्त भइराख्नुपर्छ भनेर आरती उतार्दैछ। यो कस्तो विरोधाभास हो हाम्रो आन्दोलनको ? कम्युनिष्ट आन्दोलन वस्तुवादी, निर्मम, सर्वश्रेष्ठ, तार्किक आन्दोलन। यो सारा छोडेर आज कस्तो आन्दोलन ?’
महासचिव भुसालले केपी शर्मा ओली, पुष्पकमल दाहाललगायतका नेताहरूप्रति लक्षित गर्दै भने – ‘लिडरसीपको कुरा गर्दा त कस्तो भयो भने अघि मैले भनिसकेँ, म १४ वर्ष जेल बसेको, मलाई प्रधानमन्त्री चाहियो। म जनयुद्ध लडेको, प्रधानमन्त्र मैलाई चाहियो। पहिले म नेता थिएँ, अब पनि मै नेता हुँ। यो कुनै तर्क हो ? यो कुनै इतिहासको तर्को हो ? इतिहास; इतिहास पनि मिटरब्याज जस्तो बढेको बढ्यै गर्छ ? हाम्रो नेतृत्व हो कि मिटरब्याजीहरूको गठबन्धन हो ?’