अख्तियारद्वारा एक बर्षमा २९ हजार उजुरी फछर्यौट

२०८२ श्रावण ११ गते, शनिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा २९ हजार ७०३ उजुरी फछर्यौट गरेको जनाएको छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आयोगको वार्षिक समीक्षा कार्यक्रममा उजुरी व्यवस्थापन, छानबिन, अनुसन्धान, अभियोजन र आगामी कार्यदिशा लगायतका विषयमा छलफल भएको थियो।
उक्त आवमा आयोगमा विभिन्न माध्यमबाट २८ हजार ५९७ नयाँ उजुरी प्राप्त भएका थिए भने अघिल्लो वर्षबाट जिम्मेवारी सरेका ८ हजार ४२९ उजुरी समेत गरी कुल ३७ हजार २६ उजुरीको कारबाही गर्नुपर्ने अवस्था थियो। तीमध्ये संघीय सरकारसँग सम्बन्धित १२ हजार ४७५, प्रदेश सरकारसँग सम्बन्धित ४ हजार ६१८ र स्थानीय तहसँग सम्बन्धित १९ हजार ९३३ उजुरी परेका थिए।
सबैभन्दा बढी उजुरी आयोगको वेबसाइटमार्फत १० हजार २४५, लिखित निवेदनबाट १० हजार १८०, इमेलमार्फत ८ हजार ४८८, हुलाकबाट ५ हजार ५५५ र अन्य माध्यमबाट २ हजार ५५८ प्राप्त भएका थिए।
आयोगले तीमध्ये ८०.२२ प्रतिशत उजुरी फछर्यौट गरेको छ भने ६ हजार ७१५ उजुरी सम्बन्धित निकायमा कारबाहीका लागि पठाइएको छ। साथै, ५८६ उजुरी सुझावसहित कार्यान्वयनका लागि सिफारिस गरिएको छ।
गत आवमा आयोगले ८१ बैठक बसेर १३७ मुद्दा विशेष अदालतमा दायर गरेको छ। ती मुद्दामा ७५३ जनालाई प्रतिवादी बनाई ५ अर्ब ९७ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ। ३९५ मुद्दामा फैसला भइसकेको छ, जसमा ६७.२३ प्रतिशत मुद्दामा दोष प्रमाणित भएको छ। रङ्गेहात पक्राउ परेका ३३ व्यक्तिबाट ५५ लाख १० हजार रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ। समीक्षा कार्यक्रममा आयोगको रणनीतिक योजना अनुसार उजुरी व्यवस्थापन, अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउने गरी आगामी कार्यदिशा तय गरिएको जानकारी दिइएको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु