रामहरि खतिवडाद्वारा राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा

२०८२ श्रावण २८ गते, मंगलवार


काठमाडौँ । रामहरि खतिवडाले संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदबाट राजीनामा दिएका छन्। उनले संघीय निजामती विधेयकमा राखिएको कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीका विषयमा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।
राज्य व्यवस्था समितिबाट पारत भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको छ । प्रतिवेदन आइसकेपछि सभापति खतिवडा समेत जिम्मेवार रहेको भनेर प्रश्न उठिरहेका बेला खतिवडाले राजीनामा दिएका हुन् ।
राजीनामा दिनु अघि सभामा बोल्दै खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा समेत रहिरहने बताए । निजामती सेवा विधेयकको प्रतिवेदनमा आफ्नो हस्ताक्षर रहेको बताए ।
सरकारी कर्मचारीलाई अवकाश लगत्तै संवैधानिक र कूटनीतिक नियुक्ति दिन नहुने र यसो गर्दा सरकारको कामकारबाही प्रभावित हुने र भविष्यमा पाउने पदका लागि कर्मचारी रहँदै गलत कार्य हुन सक्ने उनले औंल्याए । गलत हुन नदिन प्रयास गरेको र निजामती विधेयकमा कुलिङ अफ पिरियड लागू गर्ने कार्यमा आफू नेतृत्वको समिति लागेको उनको भनाइ छ ।
सर्वसम्मत रुपमै सरकारी कर्मचारीका लागि दुई वर्ष कुलिङ अफ पिरियडको प्रावधान राखिएको उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु