एमसीसीअन्तर्गत २९७ किलोमिटर प्रसारण लाइन निर्माणको सम्झौता हुँदै

काठमाडौँ । एमसीए नेपालका अनुसार आज मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) परियोजनाअन्तर्गत २९७ किलोमिटरको विद्युत प्रसारण लाइन निर्माणका लागि सम्झौता हुँदैछ । एमसीसीका परियोजनाको निर्माणतर्फ नेपाली कम्पनीले पाएको यो नै पहिलो ठेक्का हो । यसअघि उक्त परियोजनाअन्तर्गत एक प्रसारणलाइन र तीन सबस्टेसन निर्माणको ठेक्का विदेशी कम्पनीले पाएका थिए ।
एमसीए नेपालका अनुसार दुई प्याकेजमा निर्माण हुन लागेको यस प्रसारण लाइनको रातमाटे–नयाँ दमौली खण्ड निर्माणका लागि एमरएस एञ्जेलिक–स्किपर जेभीले ठेक्का पाएको छ । उक्त कम्पनीले ७७.४८ मिलियन अमेरिकी डलरमा सम्झौता हुन लागेको हो ।
त्यसैगरी, नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माणका लागि नेपाली कम्पनीले नेतृत्व गरेको संयुक्त उपक्रम वाइबा–सलासर जेभीले ठेक्का पाएको छ । उक्त ठेक्काको लागत ७७.०३ मिलियन अमेरिकी डलर रहेको छ ।