रवि लामिछानेलाई नक्खु कारागार ल्याइने

काठमाडौँ । कारागार व्यवस्थापन विभागले रुपन्देहीको भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार सरुवा गर्ने निर्णय भएको जनाएको छ। विभागका महानिर्देशक लीलाप्रसाद शर्माले शुक्रबार लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरेको बताइएको छ । लामो समयदेखि रोकिएको लामिछानेको कारागार सरुवाको निर्णय शर्माले विभागको जिम्मेवारी सम्हालेकै दिन गरेका हुन्। उनको कारागार बसाइ लम्बिने भएपछि अब काठमाडौँ ल्याउन लागिएको गृहका अधिकारीहरूको भनाइ छ।
रवि हाल बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगको पुर्पक्षका क्रममा भैरहवा कारागारमा छन्। जिल्ला अदालतले १ करोड रूपैयाँ धरौटीमा रिहा गरेको भए पनि उच्च र सर्वोच्च अदालतले उनलाई थुनामै बस्नुपर्ने आदेश गरिदिए। उनले हालै सुप्रिम सहकारीको आफ्नो भागको बिगो दाखिला गरेर रिहाइको आदेश गर्न जिल्ला अदालतमा निवेदन दिएका थिए। अदालतले बिगो नै यकिन नभएको र यसअघि नै थुनछेकको विषय सर्वोच्चबाटै टुंगो लागिसकेको जनाउँदै उनको माग अस्वीकार गरिदिएको छ।
रविका विरुद्ध काठमाडौँ, कास्की, चितवन र पर्सा जिल्ला अदालतमा पनि सहकारी ठगीको अभियोगमा मुद्दा चलेका छन्। कास्कीमा सम्पत्ति शुद्धीकरणको अभियोगमा पनि मुद्दा चलेका कारण उनको सांसद पद निलम्बनमा छ। अन्य जिल्लामा सहकारी ठगी र संगठित अपराधका मुद्दा छन्।